२०८१ बैशाख १३

प्रथम टी-२० मेयर कप क्रिकेट : राजविराज र जनकपुर फाइनलमा

विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा विराटनगरमा जारी प्रथम टी-२० मेयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका फाइनलमा प्रवेश गरेको छ।


Advertisement


शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले वीरगञ्ज महानगरपालिलाई पराजित गरेको हो।

पहिलो खेलमा सप्तरीको राजविराजले विराटनगरलाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर खडा गरेको थियो।

राजविराजका लागि अमित यादवले २७ रन बनाउँदा विकास दासले ११ बलमा २ छक्का र २ चौका प्रहार गरी २४ रनमा अविजित रहे। त्यस्तै, रोहन विकले २० रन बनाए।

विराटनगरका दीपेश कँडेलले २ विकेट लिँदा मुकुन्द यादव र सिद्धान्त लोहनीले १-१ विकेट लिए।

१ सय ३८ रनको विशाल रनको लक्ष पाएको विराटनगरले १६ दशमलव ३ बलमा सबै विकेट गुमाई ९१ रनमा सीमित भयो। विराटनगरका लागि मिनश थापाले २८ रन जोड्दा मुकुन्द यादवले १४ रन तथा रेवती यादव र सिद्धान्त लोहनीले १२-१२ रनको योगदान दिए।

राजविराजका म्यान अफ द म्याच रोहित सिंहले ४ ओभरमा २२ रन दिएर ४ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादव, मेहबुव आलम र राहुल मण्डलले २-२ विकेट विकेट लिए।

दोस्रो खेलमा जनकपुरले वीरगञ्जमाथि ३ रनको रोमाञ्चक जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो।

टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ बलमा सबै विकेट गुमाई ७६ रनको झिनो स्कोर खडा गरेको थियो।

जनकपुरका लागि हरिशंकर साहले १९ रन बनाउँदा रोनक रत्नम्, विशाल सुस्लिङ र रुपेश यादवले १०-१० रन बनाए। वीरगञ्जका कागि सम्शाद मन्सुरीले ३ ओभरमा १४ रन दिए ५ विकेट लिँदा अरनिको यादवले ३ विकेट लिए।

७७ रनको झिनो लक्ष पछ्याएको वीरगञ्जले पूरै ओभर खेल्दै ९ विकेट गुमाई ७३ रनमा सीमित भयो।

वीरगञ्जका लागि अरनिको यादवले २४ रन बनाउँदा साहिल पटेलले १३ रन र इमरान शेखले १२ रन जोडे। जनकपुरका म्यान अफ द म्याच विशाल सुस्लिङले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ४ विकेट लिँदा हरिशंकर साहले १ विकेट लिए।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मधेस प्रदेशको वीरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागी भएका छन्।

Copy link
Powered by Social Snap