२०८१ बैशाख २२

स्थानीय तह निर्वाचन: स्पष्ट खाका नआउँदा अन्यौल

दुई दिनअघि नेपाली कांग्रेस कञ्चनपुरको पार्टी कार्यालयमा पाँच दलीय गठबन्धनको बैठक बस्यो।

कांग्रेसका पार्टी सभापति पदम बोगटीको संयोजकत्वमा बसेको बैठकले केन्द्रको सहमतिअनुसार आपसी समझदारी र सहकार्य गरी स्थानीयस्तरमा तालमेल गर्ने निर्णय गर्‍यो।


Advertisement


केन्द्रदेखि पार्टीको जिल्ला तहसम्म गठबन्धन गरेर निर्वाचनमा जाने एकखाले समझदारी बने पनि कांग्रेसभित्र पालिकास्तरमा भने गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त हुन थालेको छ।

जिल्लामा भएको समझदारीको दुई दिन नबित्दै मंगलबार नेपाली कांग्रेस भीमदत्त नगर कमिटीले भीमदत्तमा कांग्रेसले बिनागठबन्धन निर्वाचन लड्ने निर्णय गरेको छ।

नगरसभापति अच्युतराज कलौनीको अध्यक्षतामा बसेको बैठकले यहाँ गठबन्धन नगर्ने निर्णय गरेपछि यहाँको चुनावी माहोल तरङ्गित बनेको छ। यसअघि विसं २०७४ को निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र विष्ट नगर प्रमुखमा निर्वाचित भएका थिए।

एमालेसँग कांग्रेसका नेता बोगटी झिनो अन्तरले पराजित भएका थिए। अहिले बोगटी पार्टी सभापति छन् भने एमालेबाट नगरप्रमुख जितेका विष्ट पनि पार्टीको जिल्ला अध्यक्ष पदमा छन्।

दुई पालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा यसअघि कांग्रेसले शुक्लाफाँटा र दोधारा चादँनी नगरपालिकाको नगरप्रमुख पदमा जितेको थियो।

एमालेमा आएको फुट र जिल्लामा माओवादीको अवस्था कमजोर रहेकाले आफूहरू पार्टीलाई यहाँ एक्लै लड्न दबाब दिने कांग्रेसका एक नेताले बताए। कञ्चनपुरको भीमदत्त, दोधारा चादँनी, शुक्लाफाँटालगायत पालिकामा कांग्रेसको अवस्था मजबुत मानिन्छ।

पालिकाको निर्वाचन एक्लै लड्न हौसिएका कांग्रेसका केही नेता तथा कार्यकर्ताले पनि सामाजिक सञ्जालमा समेत गठबन्धनको विरोध गरिरहेका छन्। कांग्रेस भीमदत्त नगर कमिटी सचिव राहुल भट्टले भीमदत्तमा आफ्नै पार्टीभित्र एकताबद्ध गरेर निर्वाचनमा जाने बताए।

‘यहाँ अहिले नगरप्रमुखमा १० र उपप्रमुखमा सात आकांक्षी देखिएका छन्’, उनले भने, ‘गठबन्धन नगरेरै जानेमा नगर कमिटीमा एकमत छ।’

भीमदत्तमा एमालेलगायत दलहरूले पनि उम्मेदवारको टुंगो लगाउन बाँकी छ।

एमालेका नेताले चुनावी तालमेलका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासित छलफल अघि बढाएका छन्। हालसम्म भीमदत्त नगरप्रमुखमा स्वतन्त्रबाट व्यवसायी इञ्जिनियर कोमलबहादुर सिंहले उम्मेदवारी घोषणा गरिसकेका छन्। 

कांग्रेस पुर्नबास नगर कमिटी पनि कार्यकर्ताको भावनाविपरीत गठबन्धन नगर्ने भन्दै आन्तरिक छलफलमा जुटेको छ। कांग्रेसकै कञ्चनपुरका जिल्ला सचिव हेमराज ओझाले गठबन्धन हुनेमा विमति नरहेको बताए।

‘गठबन्धनमा ठूला दलमा धेरै आकांक्षी हुनु स्वाभाविक हो’, उनले भने, ‘अहिले सामान्य रूपमा देखिएको असहमतिलाई साम्य पारेर एकताबद्ध भएर निर्वाचनमा जान्छौं, नौ वटा पालिकामध्ये पाँच वटामा कांग्रेसको नेतृत्व रहन्छ। पार्टीको निर्णय सबै तहमा नेता तथा कार्यकर्ताले मान्ने नै छन्।’

त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिव हरकसिंह धामीले यहाँ पनि पाँच दलीय गठबन्धन निर्वाचनमा जाने निश्चित भइसकेको बताए।

‘केन्द्रबाट गठबन्धनबारे स्पष्ट खाका नआएकाले संयुक्त छलफल हुन पाएको छैन’, उनले भने,‘माथिको खाका जिल्लामा आएपछि पालिका बाँडफाँटको विषय अघि बढ्छ।’

सचिव धामीले जिल्लामा पनि गठबन्धनसित आवद्ध दलबीच सद्भाव कायम गर्दै सौर्हादपूर्ण वातावरणमा निर्वाचनमा जान समझदारी बनेको बताए।

‘ठूला दल भएकाले कांग्रेसभित्र पार्टीका पालिकास्तरका कमिटीले दबाब बढाउनु स्वाभाविक हो’, उनले भने,‘गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता पनि हो।’
 

Copy link
Powered by Social Snap