२०८१ बैशाख १७

पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।


Advertisement


आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यबाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन्।

उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा-नचाहँदै कठोर हुनुपर्ने अवस्था आउन सक्नेतर्फसमेत सचेत गराएका छन्।

व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे-नबेचेको अनुगमन गर्न कार्यबाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा अनुगमन गरेको निगमका कार्यबाहक महानिर्देशक गोइतले जानकारी दिए।

उनका अनुसार कार्यबाहक प्रधानमन्त्री खाणको निर्देशनअनुरूप उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरिएको र केहीले बेचेको तथा केहीले नबेचेको फेला परेको पनि उनले जानकारी दिए।

आइतबार थानकोटको डिपो खुला हुने भएकाले तेल ल्याएर बिक्री गर्ने कागज बनाएर छाडेको पनि उनले जानकारी गराए। 

डिलर्स एसोसिएसनका महासचिव अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुंग्याउन निर्देशन दिएको जानकारी दिए।

व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि डिजेल पेट्रोल बोक्ने ट्यांकरको भाडा बढाइनुपर्ने लगायत माग राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने चेतावनी दिँदै आएका छन्। 

Copy link
Powered by Social Snap