२०८३ कार्तिक १२

गठबन्धनको बारेमा धेरै कुरा गर्नु छैन, कठैबरा भन्न मन छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको शक्ति खिइँदै गएर दुवैतर्फ वैशाखी टेक्ने अवस्थामा पुगेको बताएका छन्।


Advertisement


कपिलवस्तुको तौलिहवामा आयोजित संघीय सांसद बृजेशकुमार गुप्ताको नेतृत्वमा एमाले प्रवेश गरेकाहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले कुनै जमानामा बलियो र ठूलो जुरो भएको साँढे गोरुजस्तै बनेको कांग्रेस अहिले कमजोर बन्दै गएको बताए।

गठबन्धनको बारेमा आफूलाई धेरै कुरा गर्नु नभएको भन्दै ओलीले भने,‘मलाई गठबन्धनको बारेमा धेरै कुरा गर्नु छैन, कठैबरा भन्न मन छ, नेपाली कांग्रेस कुनै जमानामा ठूलो जुरो भएको साँढे गोरुजस्तै थियो, अहिले दुवैतर्फ वैशाखी टेकेर उभिनुपर्ने अवस्थामा पुगेको छ,’ उनले भने।

ओलीले देशभर एमालेमा जनताको लहर छाएकोले सबै दल मिलेर आए पनि एमालेसँग लड्न नसक्ने बताए।

पछिल्लो समय तराईका जिल्लाहरूमा एमालेमा जनलहर चलेको भन्दै उनले एमालेको लहरले तराईमा विकासको बाढी ल्याउने बताए।

‘तराईका जिल्लाहरू अब एमालेको किल्ला बनेका छन्, पूर्वका जिल्लाहरू पछि आज कपिलवस्तु पनि एमालेको किल्ला बनेको छ, अब तराईका गाउँ-गाउँमा पसेको एमालेको लहरले विकासको बाढी ल्याउने छ,’ उनले भने।

अध्यक्ष ओलीले कुन पार्टीमा जाऊँ भनेर अझै पनि अलमलमा परेकाहरूलाई अलमलमा नपरी एमालेमा प्रवेश गर्न आग्रह गरे।

‘नेकपा एमाले सबैलाई स्वागत गर्न तयार छ, म आइनपुगे पनि म आए सरह मानेर एमालेमा आउन ढिला नगर्नुस्,’ ओलीले भने।

सामाजिक सद्भाव, देशको उन्नति, प्रगति र विकासका लागि एमालेको विकल्पमा नेपालमा कुनै पनि अर्को दल नभएको दाबी गर्दै देशको विकासको अगुवाइ एमालेले गर्ने बताए।

एमालेकै अगुवाइमा नेपालमा तुइनको युग अन्त्य गरी पुलको युग सुरू गरिएको भन्दै ओलीले आठ महिना अगाडि सरकारबाट हट्नु परेका कारण केही सडक र पुलहरूको निर्माण पूरा गर्न नसकेको बताए।

‘एमालेले पानी जहाजका कुरा गर्दा कांग्रेसले हामीलाई उडाउने गथ्र्यो, अहिले कर्णालीमा स्टिमर चल्न थालेका छन्, आधा दर्जन बढी विमानस्थलमा रातिमा जहाज उडान गर्न ल्याण्डिङ गर्न मिल्ने भएको  छ, पूर्वपश्चिम राजमार्ग फराकिलो बनेको छ, यी सबै एमालेको अगुवाइमा भएका हुन्,’ उनले भने।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपालभन्दा बाहिर अन्तरिक्ष र समुन्द्रमा समेत नेपालको हक स्थापित गर्ने कार्य भएको दाबी गरे।

‘हाम्रै पहलमा समुन्द्र र अन्तरिक्षको स्पेसमा समेत नेपालले आफ्नो हक स्थापित गरेका छौं, नेपालका घुम्ती र अप्ठ्यारा बाटाहरूमा टनेल निर्माण गरी यात्रा सुरक्षित र छिटो बनाएका छौं,’ उनले दाबी गरे।

कपिलवस्तुको खेतीयोग्य जमिनमा कृषि उत्पादन बढाउन राप्ती बहुउद्देश्यीय आयोजना र डाइभर्सन निर्माण भइरहेको भन्दै ओलीले राप्तीबाट नदी डाइभर्सन गरी ल्याएको पानीले कपिलवस्तुको भूमि हराभरा हुने बताए।

उनले कपिलवस्तुलाई औद्योगिक सहरको रूपमा विकास गर्नुपर्ने बताए।

तराई क्षेत्रमा कमजोर रहेको शिक्षा र स्वास्थ्यलाई बलियो बनाउन पछाडि परेका र आर्थिक अवस्था कमजोर भएका नागरिकका छोराछोरीलाई नि:शुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यको प्रबन्ध एमालेले गर्ने दाबी गरे।

मुस्लिम समुदायमा अझै पनि छोरी पढाउने चलन कम रहेको भन्दै उनले अब हरेक बालिका स्कुल भन्ने नारा चलाउनुपर्ने बताए।

अध्यक्ष ओलीले हरेक समुदायका आ-आफ्नै धर्म, संस्कृति र परम्परा हुने भए पनि विभिन्न धर्म र परम्पराका नाममा हिंसा भड्काउनेहरूसँग समयमै सचेत बन्न आग्रह गरे।

‘एकआपसमा मिलेर बसेकाहरूलाई हिन्दु र मुसलमान भनेर झगडा लगाउने, भड्काउने, हिंसाको बाटोमा हिँड्न प्रेरित गर्ने र विकास विरोधीहरूलाई समयमै चिनेर एकता, शान्ति र मित्रताको बाटोमा लाग्न मैले सबैलाई आग्रह गर्छु,’ ओलीले भने।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap