२०८१ बैशाख १४

जनताले न्याय क्षेत्रमा सुधार भएको महसुस गर्न पाएनन्ः महान्यायाधीवक्ता खाती

महान्यायाधीवक्ता खम्मबहादुर खातीले देशमा जतिसुकै परिवर्तन भए पनि नागरिकले न्याय क्षेत्रमा सुधार भएको महसुस गर्न नसकेको बताएका छन्। 


Advertisement


कुनै पनि परिवर्तनको अनुभूति नागरिकले गर्न पाएमात्रै त्यसको सार्थकता हुने भन्दै उनले जनताले न्याय क्षेत्रमा भएको परिवर्तनको अनुभूति गर्न नपाएको बताए।

उच्च सरकारी वकिल कार्यालय बुटवलको नवनिर्मित भवनको उद्घाटन गर्दै महान्यायाधीवक्ता खातीले न्याय सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउन सकेमात्रै न्याय क्षेत्रमा परिवर्तन भएको बुझ्न सकिने बताए। 

‘देशका सबै जसो जिल्लाका कारागार र त्यहाँ राखिएका कैदी बन्दीहरूको अवस्था दयनीय छ, सरकारले कारागार र कैदी बन्दीहरूको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ,’ उनले भने।

महान्यायाधीवक्ता खातीले देशमा तीन तहका सरकार भए पनि आपसमा समन्वय हुन नसक्दा जनताले पाउनुपर्ने सेवाहरू पनि सहज रूपमा पाउन नसकेको बताए। ‘अहिले देशमा तीन तहका सरकार छन्, तर सरकारकै बीचमा समन्वय हुन नसक्दा जनताले पाउनुपर्ने सेवा पाउन सकेका छैनन्,’ खातीले भने।

उनले सरकारले न्याय क्षेत्रमा सीमित बजेट छुट्याउने गर्दा न्याय सम्पादनमा समेत असर परेको उल्लेख गर्दै यस्तो अवस्थामा न्याय क्षेत्रले पनि निष्ठावान, कर्तव्यनिष्ठ र इमान्दारिपूर्वक काम गर्नुपर्ने बताए। 

‘न्याय क्षेत्रको सुधारको लागि न्याय क्षेत्रमा काम गर्ने न्यायमूर्तिहरू, सरकारी वकिल, अनुसन्धानकर्ता तथा सबै राष्ट्र सेवक कर्मचारीको समेत पुरानो सोच र दृष्टिकोण नहटाई परिवर्तन हुन सक्दैन, हाम्रो जिम्मेवारी र इमान्दारितामा खोट नलगाउने गरी काम गरौं,’ उनले भने।

उनले न्याय क्षेत्रमा काम गर्नेहरूले आफ्नो बानी व्यवहार र आचरणलाई सुन्दर बनाउन सकेमात्रै त्यहाँबाट सम्पादन गर्ने सेवाहरू सुन्दर बन्न सक्ने बताए। 

उनले नागरिकलाई सर्वसुलभ सेवा प्रदानका लागि प्रविधिको उच्चतम प्रयोग गर्न पनि आग्रह गरे।

नायब महान्यायाधीवक्ता पदमप्रसाद पाण्डेले नयाँ भवनमा काम गर्ने न्यायकर्मी र कर्मचारीहरूको सोच र आचारणमा पनि नयाँपन आउनुपर्ने बताए। 

‘पुराना भवन भत्काएर नयाँ भवन बनाएजस्तै, हामीले हाम्रा पुराना सोच र आचरणलाई समेत भत्काउन जरूरी छ,’ उनले भने।

२०७६ साल पुस १५ गते तत्कालीन महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले शिलान्यास गरेको चार तलाको उक्त भवन ५ करोड ५९ लाख ९ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी श्री रोयल कन्ट्रक्सन धनगढी कैलालीले ठेक्का सम्झौता गरेको थियो।

उद्घाटनको अवसरमा समयमै भवन निर्माण पूरा गरेको भन्दै निर्माण कम्पनीलाई सम्मान समेत गरिएको थियो।

Copy link
Powered by Social Snap