२०८१ बैशाख १३

केपी ओलीले भने – यत्रो तीन करोड जनता छन्, किन चाहियो वाम एकता?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता र गठबन्धन नभनी पार्टी प्रवेशमा केन्द्रित हुन निर्देशन दिएका छन्।


Advertisement


पार्टी केन्द्रीय कमिटीको पहिलो दिनको बैठकको अन्त्यमा बोल्दै एमाले अध्यक्ष ओलीले बामपन्थी एकताको जरुरी नरहेको समेत बताए। उनले माओवादी केन्द्रका कार्यकर्ता एमाले प्रवेश गराएर उसलाई रित्तो बनाउनुपर्ने समेत बताए।

‘गठबन्धन नभनौं, एकता नभनौं। के को पार्टी एकता? पार्टी प्रवेश भनौं। वाम एकता भन्यो भने पार्टी प्रवेश रोकिन्छ। के को बाम एकता? प्रचण्डको भाँडो रित्तिने गरी प्रवेश गराउनुपर्छ,’ उनले भने, ‘यत्रो पार्टी टुक्र्‍याउने काम गरिएको छ। पार्टी सकाउन अन्य देश वा समूहहरूसँग सम्झौता भएको छ। प्रचण्डले देशका युवामाथि खेलवाड गरेका छन्। त्यसो भएको हुनाले प्रचण्ड को भाँडो पखालेर यता खन्याउन पर्छ।’

तीन करोड जनता भएको ठाउँमा वाम एकता किन चाहियो भनेर समेत उनले प्रश्न गरेका थिए।

‘यत्रो तीन करोड जनता छन्। किन गर्न पर्‍यो वाम एकता? कुन बा कता छन्? कुन आमा कता छन्? किन तिनीहरूलाई वाम एकता भन्ने?,’ उनले भने, ‘घरमा नातिनातिना खेलाएर बसेकाहरू किन खोज्न हिँड्न पर्‍यो? हामी एउटा विषय (वाम एकता)मा अलमल हुन जरुरी छैन।’

पार्टीको निर्देशन, विधि र पद्धति विपरीत कोही जान नहुने भन्दै ‘पार्टी एकातिर म अर्कोतिर’ जसरी नचल्न उनले चेतावनी दिए।

एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल, रघुजी पन्तले सोमबारको पोलिटब्युरो बैठकमा वाम एकतामा जोड दिएका थिए। भुसालले त वाम एकता नभए कम्युनिष्ट आन्दोलन विघटनको बाटोमा जाने अभिव्यक्ति सार्वजनिक रूपमै दिएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई इंगित गर्दै ओलीले भने, ‘कम्युनिस्ट आन्दोलनलाई बन्चरो प्रहार गरेर कम्युनिस्ट पार्टी सक्याउनेहरूले गठबन्धन भएन भने हामी सकिँदै छौं भनेर भन्दैछन्।’

पार्टीका आन्तरिक मामिलाहरू टुंग्याउनुपर्ने भन्दै उनले मिलाउन नसकेको ठाउँमा अहिलेलाई विवाद थाँती राख्नुपर्ने बताए। उनले अरू पार्टीका राम्रा कुराहरू सिक्न निर्देशन दिए।

‘हाम्रो पार्टीमा अनुशासान कमजोर भएको छ। अनुशासित र सभ्य हुन पर्‍यो अनि संस्कारपनि हुन पर्‍यो। विरोधीहरूले सत्ता गयो अहंकार गएन भनिरहेका छन्,’ उनले भने, ‘विरोधीहरूलाई त ठेगान लगाइन्छ तर आफू पनि सुध्रिनुपर्छ। हामी त सरकारमा जाने हो। हामीले अबलम्बन गरेको प्रणालीमा अब पूर्णत: विपक्षमा हुने भन्ने हुँदैन।’

 उनले सबैतिर सत्ता पक्षमा ल्याउन प्रयत्न गर्नुपर्ने समेत बताए।

२०७७ पुस ५ गते आफूले प्रतिनिधिसभा विघटन गर्नु सही कदम रहेको समेत दाबी ओलीले दोहोर्‍याए।

‘आजकल पुस ५ गलत थियो भनिन्छ। त्यसो भए प्रचण्ड र माधव नेपालको षड्यन्त्र ठिक थियो भन्नुपर्छ। पार्टीभित्र माधव नेपालको कति शक्ति थियो हामीलाई थाहा थियो, त्यसमाथि प्रचण्ड,’ उनले भने, ‘हामीले प्रचण्डलाई धेरै सिट दिएर गठबन्धन गर्‍यौं तर त्यो टिकेन। प्रचण्डको षड्यन्त्र चकनाचुर पार्न संसद विघटन गरेको हो।’

Copy link
Powered by Social Snap