२०८१ बैशाख १४

एकदिवसीय खेलमा पपुवा न्युगिनीको १८ खेलपछि जित

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएईलाई पराजित गर्दै पपुवा न्युगिनीले १८ खेलको हारको ऋंखलालाई तोडेको छ।


Advertisement


१९औं खेलमा जित निकाल्ने क्रममा पपुवा न्युगिनीले शनिबार दुबईमा घरेलु टिम युएईलाई ६ विकेटले पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको युएई ५० ओभरमा १४७ रनमा अलआउट भएको थियो।

युएईका लागि रोहान मुस्ताफा बाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन्।

मुस्ताफाले ८८ रन जोडेका थिए। उनले अन्तिम विकेटका लागि जहूर खानसँग ७० रनको साझेदारी गर्दा युएईले सम्मानजनक स्कोर बनाएको थियो।

बलिङमा पपुवा न्युगिनीका अलेइ नाओले ४ विकेट र चाड सोपरले ३ विकेट लिए।

१४८ रनको लक्ष्य पपुवा न्युगिनीले ३६.२ ओभरमा ४ विकेटको क्षतिमा पार गर्‍यो।

उसका लागि कप्तान असद भालाले नटआउट ६८ रन जोडे। लिग-२ मा पपुवा न्युगिनीले पहिलो जित निकालेको हो।

लिग-२ मा पपुवा न्युगिनीले यसअघिका १४ खेलमा हार बेहोरेको थियो। लिग-२ मा यो सिरिजमा नेपाल पनि सहभागी छ।

सुरुवाती दुई मध्ये नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई हराउँदा युएईसँग पराजित भएको थियो। सिरिजमा नेपालले पर्सी सोमबार युएईसँग खेल्दैछ।

Copy link
Powered by Social Snap