२०८१ श्रावण ११

‘फोटो खिचाउनै भए पनि कसैले राहत दिए हामी भोकै मर्नु पर्ने थिएन’

साभार: सेतोपाटी

महोत्तरीको जलेश्वर नगरपालिका-९ परकौलीका ३४ वर्षीय लक्ष्मण यादवलाई अचेल घर जानै मन लाग्दैन।

लकडाउन सुरू हुनुभन्दा अगाडि उनलाई काम सकेर गाउँ जान हतार हुन्थ्यो। वीरगन्जबाट जनकपुरधाम आउनेबित्तिकै जलेश्वर जाने बस चढ्थे र घर जान्थे।

पहिले-पहिले उनी घर जाँदा लक्ष्मणको घरमा ८ वर्षकी छोरी र १० वर्षका छोरा उनको अगाडि-पछाडि गर्न सुरू गर्थे। उनी पनि छोराछोरीका लागि कमाएर आउँदा केही न केही लिएरै जाने गर्थे।

लकडाउन सकिएको डेढ महिना हुन थाल्यो भयो। उनी घरै गएका छैनन्।

उनी अहिले जनकपुरधाम उपमहानगरपालिका- २३ मा रहेको रामजानकी दुल्हादुल्हन मन्दिरमा गाईवस्तुको स्याहारसुसार गर्ने गरेका छन्।

‘किन जाउँ घर कसका लागि जाउँ,’ आसु झार्दै लक्ष्मणले भने ‘गाउँ जाँदा घरमा बच्चा हुन्थे उनी हुन्थिन्, अब कोही छैनन् घर जानुको के अर्थ।’

लक्ष्मणको आखाँबाट बर्बर आँशु झरे।

लक्ष्मण करिब ८ वर्षदेखि गाडी लाइनमा काम गर्दै आएका छन्।

लकडाउनभन्दा पहिले उनी जनकपुर–वीरगन्ज चल्ने गाडीमा सहचालकको काम गर्थे।

बस चल्दा उनी दैनिक एक हजारको दरले कमाउँथे । उक्त कमाइले उनका दुई छोराछोरीसहित चार जनाको परिवार राम्रै चल्थ्यो। अहिले उनीसँग न रोजगारी छ न त परिवार नै।

‘कोरोना फैलिन नदिन सरकारले लकडाउन गर्‍यो, सुरूको एक महिनासम्म त खासै कुनै फरक परेन,’ लक्ष्मणले भने ‘ दैनिक कमाउँदा केही बचत गरेर राखेको पैसाले घर चलायौँ।

लकडाउन लम्बिँदै जाँदा भएभरको सबै पैसा सकियो। घरमा कलह सुरू हुन थाल्यो। उनीसँग आम्दानीको स्रोत भएन। घर खर्च जुटाउन सकेनन्।

उनकी श्रीमतीले त्यही बेला दोस्रो बिहे गरिन्। दुइटै छोराछोरी लिएर गइन्।

लक्ष्मण कामविहीन र परिवारविहीन भए। त्यसपछि विरक्तिएर मन्दिरमा बस्छन्। बिहान बेलुका त्यहीँको गौशालामा काम गर्छन्।

उनको कथा सुनेर मन्दिरका पूजारीले उनलाई बिहान र बेलुकाको खाना खान दिन्छन्। 

‘बसको काम बन्द भएपछि न त मालिकलाई मतलब छ कि स्टाफले के खाँदैछ कसरी बाँच्दैछ भनेर न त हाम्रो सरकारलाई नै,’ उनले भने ‘हामी मजदुर त सरकारका लागि काम नलाग्ने कुहिएको आलु भइसकेका छौँ।’

आफूजस्ता मजदुर मरे पनि बाँचे पनि तिनै तहका सरकारलाई कुनै फरक नपर्ने लक्ष्मण बताउँछन्। सरकारसँग उनको रोष कम छैन।

‘लकडाउन सुरू भएको केही दिनसम्म वडाध्यक्षदेखि विभिन्न संघसंस्थाहरूले समेत राहत बाँड्थे, फोटो खिच्थे,’ उनले भने ‘अहिले कसैले खोजखबर पनि गर्दैनन्। फोटो खिचाउनकै लागि भए पनि हामीलाई कसैले राहत बाँडिदिए भोकै मर्नु पर्ने थिएन।’

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ विन्धीका मोहम्मद हुसैन पनि करिब ११ वर्षदेखि गाडी लाइनमै काम गर्छन्।

लकडाउन हुनु अघिसम्म उनी जनकपुर–जलेश्वर–भीठ्ठामोड रूटमा सहचालक थिए।

त्यसमा उनलाई जम्मा १४ दिनसम्म खट्नुपर्थ्यो। १४ दिनसम्म छुट्टी। जनकपुर–जलेश्वर बस रूट नजिक पर्ने भएकोले उनको ज्याला पनि कमै थियो। दैनिक ८ सयका दरले उनी १४ दिनसम्म कमाउँथे।

र यताउती गरेर थप हजारदेखि १४ सयसम्म कमाइ हुन्थ्यो। त्यसले उनलाई परिवार चलाउन कहिल्यै कठिनाइको भएन। अहिले भने उनलाई ६ जनाको परिवार चलाउन हम्मेहम्मे परेको छ।

‘कहिले छिमेकसँग चामल पैँचो लिन्छौँ, कुनै दिन साथीभाइलाई हारगुहार लगाएर सापटी लिन्छु,’ हुसैनले भने ‘विस्तारै उनीहरूले पनि पत्याउन छाडिसके।  काम गरिरहेको छैन नि, कसले पत्याउँछ र?’

हुसैनका एक छोरा र तीन छोरी छन्। उनीहरूमध्ये २ जना विन्धीकै सरकारी विद्यालयमा ७ र ४ कक्षामा पढ्छन्।

अन्य दुई सन्तान स्कुल जाने भइसकेका छैनन्। आफू कामविहीन भएपछि अहिले उनले छोराछोरीलाई पढाउँदै आएको ट्युसन पनि छुटाइदिए।


Advertisement


साथीभाइसँग लिएको कर्जापैँचोबाट थोरै रकम बचाएर त्यहीँ पैसाले तरकारी किसानसँग सिजन अनुसारको तरकारी किन्छन् र बेच्छन्।

‘साथीभाइसँग लिएको पैँचोले तरकारीमा पुँजी लगाएर जसोतसो घर चलाउँदै छु, यो ज्यान बचे दुई वर्ष ढिला भए पनि छोराछोरीले पढिहाल्छन् तर पेट त दुई घन्टामात्रै अबेर भयो भने पनि मान्दैन,’ हुसैनले भने।

झन्डै २० वर्षदेखि जनकपुरधाम–धनगढी बस चलाउँदै आएका जनकपुरधाम-५का ५० वर्षीय दीलिप साहको अवस्था पनि लक्ष्मण र हुसैनको जस्तै छ।

बिहान ६ बज्नेबित्तिकै उनी बसपार्क पुगिसकेका हुन्छन्। दैनिक त्यहाँ साथीभाइसँग बसेर रेडियोमा समाचार सुन्छन्।

उनको एउटै आश हुन्छ- सरकारले आज सवारी साधन खोल्ने निर्णय त गरिहाल्ने होइन? तर रेडियोमा उनले चाहेको समाचार कहिल्यै बज्दैन।

दैनिक खाइपिई गरी हजारदेखि १५ सयसम्म आम्दानी गर्दै आएका उनका लागि अहिले एक सुकोको आम्दानी गर्नु पनि दिवासपना भएको छ।

‘लामो दूरीको सवारी साधन चलाउँथें, कमाइ पनि राम्रै हुन्थ्यो,’ दीलिपले भने, ‘त्यो आम्दानीले घरपरिवारको लालनपालन गर्थेँ। केही न केही रकम बचत पनि गर्दै आएको थिएँ।’

अहिलेसम्म त्यही बचत गरेको रकमले घरपरिवार चलाउँदै आएको उनले बताए।

दीलीपका एक छोरी र दुई छोरा छन्। ती सबै बोर्डिङ स्कुलमा पढ्थे।  

आफू जनकपुरधाममा काम गर्थे। परिवारसँगै बस्ने भनेर श्रीमती र छोराछोरीलाई गाउँबाट सहरमा ल्याइ भाड़ाको घरमा बसेका थिए। अहिले उनलाई छाक पुगोस् वा नपुगोस् घरको भाड़ा तिर्नै पर्ने बाध्यता छ।

‘दु:खसुख गरी छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनकै लागि सबै जना यहाँ बस्न थाल्यौं,’ उनले भने ‘अहिले त खानुभन्दा पहिले भाड़ाका लागि सोच्नु पर्छ, यस्तो अवस्था त ६ महिनाको नाकाबन्दीमा पनि भएको थिएन।’

माहामारीका कारण सरकारले लागू गरेको लकडाउन खुल्ला गरेको छ। तर प्रदेश २ का विभिन्न जिल्लाहरूमा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै छ।

अहिले स्थानीय तहले केही समयावधिका लागि प्रत्येक जिल्लामा अटो, ई-रिक्सासहितका सवारी साधनहरू खोलेका छन्। लामो तथा छोटो दूरी सार्वजनिक सवारी साधन भने खुल्न सकेका छैन्।

गाडी खुल्ने दिन धकेलिँदै गएपछि लक्ष्मण, मोहम्मद र दीलिपजस्ता यातायात मजदुरलाई खानै नपाई मरिएला कि भन्ने पीर पनि थपिँदै गएको छ। 

Copy link
Powered by Social Snap