२०८१ बैशाख १४

एमालेले माग्यो स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा 

नेकपा (एमाले) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ। 

पार्टीका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा मन्त्री खतिवडाले झूट बोलेको भन्दै राजीनामा मागिएको उल्लेख छ। 


Advertisement


एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मन्त्री खतिवडाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भएको बेलामा आफूले कोभिडविरूद्धको खोप पाँच हजारमा किनेर लगाएको अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ। 

सो अभिव्यक्ति झूटो र अफवाहपूर्ण भएको भट्टराईले बताए। 

‘खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ सरासर झूटो र अफवाहपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ। 

मन्त्री खतिवडाले खोपको पहिलो मात्रा सिभिल अस्पताल, बानेश्वरमा लगाएको अभिलेखमा सुरक्षित रहेको एमालेले जनाएको छ।

सरकारले २०७७ फागुन १९ देखि २१ सम्म संघीय संसदका सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराउँदा उनले खोप लिएको र अभिलेखमा उनको हस्ताक्षर समेत रहेको उल्लेख छ। 

त्यसकारण उनले तत्कालीन सरकारलाई बदनाम गर्नकै लागि गलत सूचना दिएर संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिनु निन्दनीय र आपत्तिजनक भएको एमालेको ठहर छ। 

‘आमजनता कोमिड-१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको हामी निन्दा र भर्त्सना गर्दछौं। यति झुट बोल्ने व्यक्ति नैतिक रूपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ।’

Image
Image

Copy link
Powered by Social Snap