२०८१ बैशाख १२

भारतले यू-१९ विश्वकप जित्दा कप्तानी गरेका यश धुल दिल्लीमा आबद्ध

भारतलेआइसिसी यू-१९ विश्वकप २०२२ को उपाधि जित्दा कप्तानी गरेका यश धुललाई आइपिएल २०२२ का लागि दिल्ली क्यापिटल्सले आबद्ध गरेको छ। 

२० लाख भारू न्यूनतम मूल्य रहेका धुललाई आइतबारको अक्सनमार्फत दिल्लीले ५० लाख भारूमा टिममा भित्र्याएको हो।

धुललाई भित्र्याउन सुरूमा दिल्ली र पञ्जाब किंग्सले बोली लगाएका थिए। त्यसपछि दिल्लीले ५० लाखको बोली लगाउँदै धुललाई भित्र्याएको हो।


Advertisement


दुई साताअघि भएको आइसिसी यू-१९ विश्वकपमा उनले सेमिफाइनलमा अस्ट्रेलियाविरूद्ध शतक हानेका थिए।

भारतले पाँचौ पटक  यू-१९ विश्वकप जित्ने क्रममा फाइनल भिडन्तमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो।

उपाधिसँगै भारतका लागि युवा विश्वकप जित्ने यश धुल पाँचौ भारतीय कप्तान बनेका थिए। यश धुलसँगै विराट कोहली,  मोहमद कैफ, उन्मुक्त चन्द र पृथ्बी शाले भारतले यू-१९ विश्वकप जित्दा टिमको नेतृत्व गरेका थिए। 

धुल फाइनलअघि नै चर्चित बनेका थिए। उनले अस्ट्रेलियाविरूद्धको सेमिफाइनलमा ११० रन जोडेका थिए। धुलको उत्कृष्ट ब्याटिङसँगै भारत फाइनलमा पुगेको थियो। 

धुल यू-१९ विश्वकपमा शतक प्रहार गर्ने भारतका तेस्रा कप्तान हुन्। यसअघि सन् २००८ मा विराट कोहली र सन् २०१२ मा उन्मुक्त चन्दले युवा विश्वकपमा शतक हिर्काएका थिए। 

अस्ट्रेलियाविरूद्धको सेमिफाइनलमा धुल मैदान छिर्दा भारतले २ विकेट गुमाउँदा ३७ रन मात्र जोडेको थियो। धुलले तेस्रो विकेटका लागि शेख रशीदसँग २०४ रनको साझेदारी गरेपछि भारत मजबुत स्थितिमा पुगेको थियो। 

धुलले समूह चरणमा दक्षिण अफ्रिकाविरूद्ध ८२ रन जोडेका थिए।

त्यसपछि कोभिड-१९ को सिकार हुँदा धुल आइसोलेसनमा बस्नु परेको थियो।

महत्वपूर्ण प्रतियोगितामा कोरोना संक्रमित भएपछि धुल बिक्षिप्त बनेका थिए। कोरोना हुनुका बावजुद उनले आइसोलेसनमा तेस्रो दिनदेखि नै अभ्यास सुरु गरेका थिए। कोठामै उनी घन्टौ ब्याटिङ गर्थे।  

कोरोनाबाट मुक्ति पाएपछि उनले क्वार्टरफाइलदेखिका मात्र खेल खेलेका थिए। क्वार्टरफाइनलमा बंगलादेशविरूद्ध नटआउट २० रन जोडेका उनले अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा भने उत्कृष्ट खेल्दै कोरोनाको पीडा भुलाए।

दिल्लीमा जन्मिएका यश धुललाई क्रिकेटर बनाउनका लागि उनका पिताको योगदान छ। उनका पिता विजय सिंहले छोरालाई क्रिकेटर बनाउन आफ्नो जागिर छाडेर पार्ट टाइम काम थालेका थिए।

सन् २००२ को नोभेम्बरमा जन्मिएका यश द्वारकाको बाल भवन स्कुलमा भर्ना भएका थिए। यो स्कुललाई क्रिकेटको राम्रो संरचना भएको स्कुल मानिन्छ। 

बाल्यकालदेखि नै क्रिकेटप्रति आकर्षित बनेका धुलले ११ वर्षको उमेरदेखि क्रिकेट सिक्न थालेका थिए। १२ वर्षको उमेरमा उनी दिल्लीको यू-१४ टिममा परेका थिए।

बाल्यकालमा उनको प्रशिक्षक राजेश नगर थिए। नगरका अनुसार धुलले ६ कक्षा पढ्दादेखि उत्कृष्ट खेल्न थालेका थिए। त्यतिबेला धुलले महिनामा १५ खेल खेलेको नगर सम्झन्छन्। 

प्रशिक्षक नगरको दाबीअनुसार धुलले उमेर समूहका २ हजार भन्दा बढी खेल खेलिसकेका छन्। उनी क्रिकेट खेल्न दक्षिण भारतदेखि श्रीलंका, मलेसिया र नेपाल पुगेको प्रशिक्षक नगरको दाबी छ।

चार वर्षअघि नेपालमा भएको यू-१९ स्तरको प्रतियोगितामा धुल प्लेयर अफ दि सिरिज भएका थिए। त्यतिबेला उनको उमेर १५ वर्षको मात्र थियो।  

त्यसपछि दिल्लीको यू-१६ टिममा परेका उनले पंजाबविरुद्ध १८५ रन बनाएपछि चर्चामा आएका थिए। दिल्लीको यू-१६ र यू-१८ टिमको कप्तानी बनेपछि विराट कोहलीले झैं तेस्रो नम्बरमा ब्याटिङ गर्ने धुललाई गत वर्ष भारतको यू-१९ टिमको कप्तान बनाइएको थियो। 

यू-१९ विश्वकपका लागि भारतीय टिममा स्थान बनाउने क्रममा धुलले यू-१९ वीनू मांकड़ ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका थिए। सन् २०२१ को सेप्टेम्बर-अक्टोबरमा भएको सिरिजमा उनले दिल्लीका लागि ३०२ रन जोडेका थिए। ७५.५० को औषत र १०३.४२ को स्ट्राइक रेटमा ब्याटिङ गरेपछि उनलाई छनोटकर्ताले एसिया कप र विश्वकपका लागि भारतको कप्तान बनाउने निर्णय गरेका थिए।

अहिले भने उनी आइपिएल टिम दिल्ली क्यापिटल्सको एकेडेमीमा अभ्यास गर्छन्।

Copy link
Powered by Social Snap