२०८१ बैशाख २४

तीनवटै निर्वाचनसम्म गठबन्धन रहन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दाबी गरेका छन् ।

सत्तारुढ माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको पनि बताए ।


Advertisement


शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताए ।

मन्त्री पौडेलले भने, ‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन सम्पन्न गर्छ । र यही गठबन्धनले एक वर्षभित्र सबै चुनाव गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार निर्वाचनको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल निर्वाचन गर्ने गरी यो गठबन्धनले आफ्नो कार्यसूचि अघि बढाएको छ । स्थानीय तहको निर्वाचन एकैपटक गर्ने घोषणा भइसकेको छ । अब सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा संघ र प्रदेशको निर्वाचनको मिति पनि स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै घोषणा हुन्छ । यो एक वर्ष निर्वाचनको वर्ष हुनेछ । हाम्रो पार्टी सकेसम्म गठबन्धनकै रुपमा निर्वाचनको प्रतिस्पर्धामा जानेछ ।’

मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको र गठबन्धन दलका शीर्ष नेताहरूबीच पनि सोही सहमति भएको बताएका थिए ।

यस क्रममा उनले एमसीसी सम्झौता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढ्ने पनि बताए । त्यसका लागि सत्तारुढ दलहरूले कार्यदल बनाएर छलफल अघि बढाएको र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि निरन्तर छलफल अघि बढाइएको उनको भनाइ थियो ।

Copy link
Powered by Social Snap