२०८१ बैशाख २१

सहमति कार्यान्वयनका लागि सरकार र चन्द नेतृत्वको नेकपाबीच छलफल

काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच भएका सहमति कार्यान्वयन गर्नेबारे छलफल भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा र नेकपाकातर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।


Advertisement


छलफलमा सरकार र चन्द नेतृत्वको नेकपाबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब गर्नुपर्ने कार्यका विषयमा छलफल भएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

उनले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा समेत छलफल भएको बताए । साथै नेकपाका नेता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका थिए । सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण प्रस्तुत गरिएको थियो ।

बैठकपछि नेकपा प्रवक्ता विश्वकर्माले छलफलकले तीनबुँदे सहमति कार्यान्वयनको ‘टाइमलाइन’ तयार गरेको बताए । ‘हाम्रो माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको छ । केही विषय टुंगिएका पनि छन्, केही टुंगिने क्रममा छन् । आशा छ छिट्टै निष्कर्ष निस्किएला,’ उनले भने ।

यसअघि सरकार र नेकपाबीच राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने, सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने, कारागारमा भएका नेता तथा कार्यकर्तालाई रिहा गर्ने र मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

Copy link
Powered by Social Snap