२०८१ बैशाख ८

आइपिएलको मेगा अक्सनमा आज लाग्नेछ १६१ खेलाडीमा बोली, सन्दीपको सम्भावना कस्तो छ?

१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज मेगा अक्सन हुँदैछ। सन् २००८ देखि सुरु भएको आइपिएलको १५ औं सिजनका लागि आज र भोलि विभिन्न १० टिमले विभिन्न खेलाडीमाथि बोली लगाउनेछन्।

आज ११ बजेबाट बैंलुरूमा हुने अक्सनमा ५९० खेलाडीमध्ये १६१ खेलाडीमाथि बोली लाग्नेछ। बाँकी खेलाडीको बोली भोलि आइतबार लाग्नेछ।


Advertisement


१० टिमले बढीमा २५ जना र कम्तिमा १८ जना खेलाडी राख्न पाउनेछन्। जसका लागि ९० करोड भारतीय रूपैयाँ खर्चना पाउनेछन्।

खेलाडीहरूले आफ्नो आधार मूल्य २० लाख, ३० लाख, ४० लाख, ५० लाख, ७५ लाख, १ करोड, १.५ करोड र २ करोड राखेका छन्।

३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडीसहित ५ सय ९० खेलाडीबाट १० फ्रेन्चाइज टोलीले आफ्नो पूर्ण टोली निर्माण गर्नेछन्।

५९० खेलाडी मध्ये २२८ क्याप्ड, ३५५ अनक्याप्ड र ७ जना एसोसिएट देशका खेलाडी छन्। 

आइपिएलका १० फ्रेन्चाइज टिमहरू चेन्नई सुपरकिंग्स, दिल्ली क्यापिटल्स, कोलकता नाइटराइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पन्जाव किंग्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंग्लोर, सनराइजर्स हैदरावाद र टिम अहमदावाद रहेका छन्। 

चेन्नई, मुम्बई र दिल्लीले २१ खेलाडी अक्सनबाट लिने सक्नेछन्। जसमा ७ जनासम्म विदेशी खेलाडी हुन सक्नेछन्।
यस्तै कोलकताले २१ खेलाडी मध्ये ६ जना विदेशी खेलाडी टिममा आबद्ध गर्न सक्नेछ।

लखनउले २२ खेलाडी मध्ये ७ जना विदेशी खेलाडी टिममा राख्न पाउनेछ। पञ्जावले २३ मध्ये ८ विदेशी खेलाडी टिममा भित्र्याउन सक्नेछ। 

राजस्थान, बेंग्लोर, हैदरावाद र अमदावादले २२ मध्ये ७ विदेशी खेलाडी टिममा आबद्ध गर्न सक्नेछन्।

लिगमा सहभागी १० मध्ये ७ टोलीले आफ्नो कप्तान पनि चुनिसकेका छन्। भने तीन टोलीले मेगा अक्सनपछि आफ्नो कप्तान सार्वजनिक गर्नेछन्।

आइपिएल २०२२ को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछाने मात्र समावेश भएका छन्।

अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गरे पनि अक्सनको अन्तिम सूचीमा सन्दीपको नाम मात्र समावेश भएको हो। 

अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारू (६४ लाख रूपैयाँ) रहेको छ। सन्दीप एसोसिएट खेलाडीको क्याटागोरीमा समावेश छन्। 

अघिल्लो सिजनमा आइपिएलका कुनै टिममा आबद्ध नभएका सन्दीप त्यसअघि तीन सिजन दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए।

सन्दीपले दिल्लीबाट सुरुवाती दुई सिजनमा ९ खेल खेले पनि तेस्रो सिजनमा कुनै पनि खेलमा मौका पाउन सकेका थिएनन्। 

Copy link
Powered by Social Snap