२०८१ बैशाख १२

एनएनआईपीए अवार्ड फागुन १७ मा हुने

काठमाडौँ — राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले ‘एनएनआईपीए स्पोर्ट्स अवार्ड २०७८’ फागुन १७ मा गोदावरी नगरपालिकास्थित बज्रबाराही मन्दिर परिसरमा आयोजना गर्ने जनाएको छ ।


Advertisement


संघका अध्यक्ष दीपक श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘कोभिड–१९ का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका अफिसियल प्रतियोगिताहरू नभएकाले यस वर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता पाएका २७ खेललाई आधार मानी विगत केही वर्षदेखि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका खेलाडीलाई सम्बन्धित संघको सिफारिसअनुसार सम्मान गर्नेछौं ।’ त्यसैले, २७ संघका २७ खेलाडीले जनही १० हजारसहित अवार्ड हात पार्नेछन् ।

उत्कृष्टमध्येका खेलाडीहरूबाट एक पुरुष र महिलालाई सर्वोत्कृष्ट खेलाडीको १–१ लाख पुरस्कार दिइने पनि संघले जनाएको छ । प्रतिभाशाली खेलाडी तथा उदीयमान खेलाडीका रूपमा दुवै विधामा १–१ पुरुष र महिला खेलाडीले ५०–५० हजार पाउनेछन् । पारातर्फका उत्कृष्ट खेलाडीले १० हजार हात पार्नेछन् । २५ हजार रुपैयाँको एनएनआईपीए खेल पत्रकारिता पुरस्कार पनि दिइनेछ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपल्ट नेपालको प्रतिनिधित्व गरेका गजराज जोशीको स्मृतिमा ‘गजराज आदर्श खेल व्यक्तित्व’ बाट एक जना सम्मानित हुनेछन् । यसमा सम्मानित हुनेलाई ३५ हजार दिइने गजराज जोशी स्मृति ट्रस्टका अध्यक्ष मनीष (राम) जोशीले बताए ।

गोदावरी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र महर्जनले भने, ‘भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्न सकौं भनेर हामीले यस अवार्डमा सहकार्य गरेका हौं । यसले गोदावरीमा खेलकुदको प्रवर्द्धन र विकासमा सहयोग पुर्‍याउनेछ ।’ मंगलबजार, टोखा, भक्तपुर, वसन्तपुर, थिमिजस्ता ऐतिहासिक महत्त्वका नगरमा आयोजना भइसकेको एनएनआईपीए स्पोर्ट्स अवार्डको १६ औं संस्करण गोदावरीमा पुगेको हो ।

Copy link
Powered by Social Snap