२०८१ बैशाख ८

स्थानीय चुनावबारे गगनले भने– संविधानविपरीतको कुरा कांग्रेसले बोक्नुपर्ने कुनै कारण छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको चुनाव वैशाखमै हुनुपर्ने बताएका छन् । शुक्रबार सानेपामा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा महामन्त्री थापाले स्थानीय तहको चुनाव संविधानअनुसार नै हुनुपर्ने बताए । 


Advertisement


अहिले सत्तारूढ गठबन्धनमा ऐन संशोधन गरेर स्थानीय तहको चुनाव सार्नेबारे छलफल भइरहेको छ । संविधानको धारा २२५ अनुसार गाउँसभा र नगरसभाको कार्यकाल पाँच वर्षको हुन्छ । कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने स्पष्ट व्यवस्था संविधानमा छ ।

निर्वाचन ऐनअनुसार ०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ मा सकिँदैछ ।

तर, २०७४ वैशाख ३१, असार १४ र असोज २ गते गरी  तीन चरणमा निर्वाचन भएकाले अन्तिम मिति कसलाई मान्ने भन्ने विषयमा अन्यौल रहेको गठबन्धनको तर्क छ । उनीहरूले वैशाखमा चुनाव गर्दा असोजमा निर्वाचित भएका प्रतिनिधिमाथि अन्याय हुने बताएका छन् ।

तर, कांग्रेस महामन्त्री थापाले भने संविधानसँग बाझिनेगरी ऐन संशोधन गरेर चुनाव सार्न नहुने बताएका हुन् ।

उनले कानुन संशोधन गरेर स्थानीय तहको चुनाव तोकेमा त्यो संविधान सम्मत नहुने धारणा राखे । संविधानसम्मत नहुने कुरालाई कांग्रेसले बोक्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।

“स्थानीय तहको निर्वाचनका सम्बन्धमा अहिले गठबन्धनमा जे जे कुरा भइरहेको छ । जुन जुन विकल्पमा छलफल भयो भनेर सञ्चारमाध्यमबाट बाहिर आएका छन् । यी कुनै पनि विषय संविधानसम्मत छैनन् । हामीले कानुन संशोधन गरेर स्थानीय तहको चुनावबारे निर्णय गर्‍यौँ भने यो संविधान सम्मत हुँदैन । संविधानसम्मत नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनै पनि कारण छैन । यही कुरा हामीले सभापतिज्यूलाई भनेका छौँ । र, गठबन्धनका नेताहरूले पनि संविधान बाझिनेगरी कुनै काम गर्ने छैनन् भन्ने मलाई विश्वास छ,” थापाले भने ।

जवाफमा पार्टी सभापति शेरबहादुर देउवाले यसबारे आफूले गठबन्धनमा कुरा राख्ने बताएको उनले जानकारी दिए ।

शुक्रबार केन्द्रीय कार्य समितिको बैठकपछि उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवासँग छलफल गरेका थिए ।

Copy link
Powered by Social Snap