२०८१ बैशाख ७

वेष्ट इण्डिजलाई इंग्ल्याण्डले १ रनले हरायो

वेष्ट इण्डिजविरूद्धको दोस्रो ट्वान्टी–२० खेलमा इङ्ल्याण्डले १ रनको रोमाञ्चक जित निकालेको छ।

यो सँगै पाँच ट्वान्टी–२० शृंखलाका लागि वेष्टइन्डिज भ्रमणमा रहेको इङ्ल्याण्डले शृंखला १-१ को बराबरीमा पुर्‍याएको छ।

इङ्ल्याण्डले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको घरेलु टोली १ सय ७० रनमा समेटिएको थियो।


Advertisement


निकै खराब सुरूआत गरेको वेष्टइन्डिज एक समय १५.१ ओभरमा ९८–८ को स्थितिमा थियो। हार नजिक रहेको वेष्टइन्डिजका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका रोमारियो शेफर्डलाई साथ दिन दशौं नम्बरका अकिल हुसेन क्रिजमा आए। उनीहरूले २९ बलमा ७२ रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्‍याएका थिए।

अन्तिम ओभर बाँकी रहँदा वेष्टइण्डिज १४२ रनमा थियो। उसलाई खेल जित्नका लागि ३० रनको आवश्यकता थियो। हातमा २ विकेट थियो। इंग्ल्याण्डका बलर साकिव मोहम्मदले अन्तिम ओभर बलिङ गर्न लागेका थिए।

अघिल्ला ३ ओभरमा १७ रन खर्चिएका उनले अन्तिम ओभरको पहिलो बल नै उनले वाइड फाले। अर्को बलमा रन लिन दिएनन्। त्यसपछिका दुई बलमा हुसेनले लगातार चौका प्रहार गरे। 

त्यसपछि केही दवावमा देखिएका साकिवले अर्को बल वाइड फाले। त्यसपछिका तीन बलमा हुसेनले लगातार छक्का प्रहार गर्दै एकै ओभरमा २८ रन जोड्दै सानदार इनिङ्स खेले।  

अन्तिम ओभरमा २८ रन जोडे पनि वेष्टइण्डिजलाई जितका लागि पर्याप्त रहेन।  हुसेनले मात्र १६ बलमा ४४ रन जोडे भने २८ बल खेलेका सेफर्डले समान ४४ रन बनाए।

त्यसअघि निकोलास पुरन २४, ब्राभो २३ र फाबिन आलेनले १२ रन बनाएका थिए। बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।  

इङ्ल्याण्डका लागि मोइन अलीले सर्वाधिक ३ तथा आदिल रासिदले २ विकेट हात पारे। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७१ रनको योगफल बनाएको थियो। 

उसका लागि ओपनर जेसन रोयले सर्वाधिक ४५ रन बनाए। मोइन अली ३१, क्रिस जोर्डन २७ र टम ब्यान्टनले २५ रनको योगदान दिए। 

जेसन होल्डर र फाबिन आलेनले समान २-२ विकेट लिए। 

पहिलो खेलमा ९ विकेटले हार व्यहोरेको इंग्लिस टिमले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित निकालेको हो।

यो रोमाञ्चक जितसँगै ५ खेलको टि-२० सिरिज १-१ को बराबरीमा पुगेको छ। अब तेस्रो खेल बिहिबार हुनेछ।

Copy link
Powered by Social Snap