२०८१ बैशाख २२

ओलीको प्रश्न: ‘अर्ली इलेक्सन’ भन्नेले जनतासँग क्षमा माग्नु पर्दैन?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनलाई कुन नैतिकताले ‘अर्ली इलेक्सन’ को कुरा गरेको भन्ने प्रश्न गरेका छन्।


Advertisement


आफूहरूले गत वर्ष नै ताजा जनादेशको माग गर्दै अनेकौं प्रहार गर्नेहरू अहिले ‘अर्ली इलेक्सन’ को कुरा गरिरहेको उनले बताए।

अध्यक्ष ओलीले आज विज्ञप्ति जारी गर्दै जनताको बीचमा जानुलाई प्रतिगमन भन्न नमिल्ने पनि बताएका छन्।

‘गत वर्ष हामीले ताजा जनादेशको माग गर्दा हामीमाथि अनेकौं प्रहार गरिए। जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन‘ भन्ने भाष्य निर्माण गरियो,’ उनले भनेका छन्, ‘प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनर्स्थापनालाई ‘संविधानको जीत’ का रुपमा व्याख्या गर्ने नेताहरु आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा ‘अर्ली इलेक्सन’ को कुरा गर्दैछन्?’

‘अर्ली इलेक्सन’ भन्नुअगाडि गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नुपर्ने पनि उनले बताएका छन्।

साथै उनले जुनसुकै बेलामा निर्वाचन भए पनि आफूहरू सामना गर्न तयार रहेको बताएका छन्।

ओलीले ७ नम्बर बुँदामा भनेका छन्, ‘हाम्रो पार्टी गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको र आज पनि हामी यो मान्यतामा अडिग छौं। हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं।’

तर स्थानीय तह निर्वाचन भने पर धकेल्ने सत्तागठबन्धनको प्रयास स्वीकार्य नहुने उनले बताएका छन्।

Copy link
Powered by Social Snap