२०८१ बैशाख ६

सिसिएमसिसीको बैठकमा के-के भयो छलफल?

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।


Advertisement


शुक्रबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफू संयोजक रहेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठक बोलाई प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन र संक्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। 

त्यस अवसरमा उनले यसको संक्रमण दर बढ्न नदिन सीमा नाकाहरूलाई चुस्तदुरूस्त बनाउन र संक्रमितहरूको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराए। 

संक्रमितहरूको परीक्षण, उनीहरूको उपचारको व्यवस्था र कोभिडविरूद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए। 

बैठकले संघीय सरकारले व्यहोर्नेगरी संक्रमितहरूको उपचार खर्च तत्कालका लागि भने स्थानीय सरकारले व्यहोर्ने विषयमा पनि छलफल गरेको छ। 

मन्त्री खतिवडाले भने, ‘कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो। ओमिक्रोनको बढ्ने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो । नाकाहरूलाई कसरी अझ चुस्तदुरूस्त बनाउने अनि एन्टिजेन परीक्षण गर्दा देखिएका बिरामीहरूको कसरी आइसोलेसनको व्यवस्था गर्ने, देखिएका बिरामीहरूको थप परीक्षण बढाउने कुराहरू, उनीहरूको खाने, बस्ने सुविधाका कुराहरू। यी सबै पक्षमा कुरा भएको छ।’ 

खोप लगाउन अझ तीव्रता दिने र चाँडै नै बुष्टर खोपमा पनि जाने भन्ने छलफल भएको उनले बताए। 

बैठकमा कोभिड भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण दर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ।

संक्रमितहरूको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरू बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए।

बैठकले तेस्रो चरणको बुष्टर खोप पनि अघि बढाउने अनुमति दिएको छ। 

Copy link
Powered by Social Snap