२०८१ बैशाख २०

एन्फा कार्यसमिति बैठकमा धारणा राख्न माग गर्दै पूर्वअध्यक्ष गणेश थापाले लेखे पत्र

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले एन्फा कार्यसमितिको बैठकमा धारणा राख्न माग गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र लेखेका छन्।


Advertisement


उनले यसअघि आफूमाथि लागेको आरोपको विषयमा स्पष्ट पार्न भन्दै कार्यसमितिको बैठकमा धारणा राख्न माग गर्दै पत्र लेखेको बताएका छन्।

एन्फाको कार्यसमितिको बैठक आगामी पुस २२ गते बस्दैछ।

थापालाई फिफाले फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरि १० वर्ष प्रतिबन्ध लगाएको थियो। सो प्रतिबन्धको अवधि बाँकी नै रहे पनि एन्फा कार्यसमितिको बैठक कुनै फुटबलको गतिविधि नभएको र आफ्नो व्यक्तिगत विषयमा धारणा राख्नका निमित्त अवसर मिलाइदिन थापाले आग्रह गरेका छन्।

थापाले लेखेको पत्र :

श्री कर्मा छिरिङ शेर्पा ज्यू,
अध्यक्ष, अखिल नेपाल फुटबल संघ,
सातदोबाटो, ललितपुर।

विषय : व्यक्तिगत धारणा राख्ने सम्बन्धमा।

मैले एउटा खेलाडी, राष्ट्रिय टोलीको कप्तान र एन्फा अध्यक्षको रुपमा रहेर लामो समय नेपाली फुटबलमा सेवा गरेको विधितै छ । म अखिल नेपाल फुटबल संघको अध्यक्ष हुँदा यहाँको नेतृत्वमा ममाथि लिखित रुपमै विभिन्न निकायमा थुप्रै निराधार आरोपहरु
लगाउनुभएको थियो।

तर तपाईले लगाएका आरोपहरुमाथि संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग र फिफाले विशेष टोली पठाएर अखिल नेपाल फुटबल संघमाथि गरेको छानविनपश्चात सफाई दिएको विषय संघ र यसका पदाधिकारीलाई जानकारी भएकै हो । स्वयम यहाँले निवर्तमान अध्यक्ष श्री नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको संघको कार्यकारिणी समितिको बैठकमा संवैधानिक आयोगको निर्णय स्वीकादै ‘विगतमा ममाथि लगाएका सबै आरोपप्रति आत्मालोचना गर्नुभएको थियो । जसलाई मैले सहजताका साथ लिएको थिएँ । तर तपाईले
तत्कालै ‘मैले बोलेको होइन’ भन्दै संघको जिम्मेवार कार्यकारिणी समितिको औपचारिक बैठकमा बोलेका कुरा फिर्ता लिनुभयो ।

विगत सात वर्षदेखि यहाँले लगाउनुभएका निराधार आरोपहरुका कारण मैले एउटा खेलाडी र व्यवस्थपकका रुपमा इमान्दारीपूर्वक गरेका काममाथि भ्रम सिर्जना भएको छ । यसबाट म र मेरो परिवारमा अत्यन्तै गहिरो गरी मानसिक आघात पुगेको छ।

मैले तपाई अखिल नेपाल फुटबल संघको अध्यक्षमा निर्वाचित भएदेखि पनि बारम्बार ममाथि लगाइएका आरोप प्रमाणित गर्न वा आत्मालोचना गर्न अनुरोध गरेको थिएँ । त्यसलाई तपाईले पूर्ण रुपमा बेवास्था मात्र गर्नुभएन, थप आधारहिन भ्रमहरुको सिर्जना गरेर मेर
थप चरित्र हत्याको प्रयास गर्नुभयो।

यही कारण २०७८ साल पुस २२ गते बस्न लागेको संघको कार्यकारिणी समितिको बैठकमा मलाई आफ्ना धारणा राख्नका निमित्त अवसर मिलाइदिनुहुन यो अनुरोध पत्र लेख्दैछु । तपाईले लगाएका आधारहिन आरोपहरुबारे संघको कार्यकारिणी समितिमा कुरा राख्दै कार्यकारिणी समितिमार्फत आम जनमानसलाई जानकारी गराउनु मेरा लागि अनिवार्य बनेको छ।

म हाल फिफाबाट फुटबलमा प्रतिबन्धित भएता पनि यो कुनै फुटबलको गतिविधि नभएको र मेरो नितान्त व्यक्तिगत विषय भएकाले  कार्यकारिणी समितिको बैठकमा मेरा धारणा राख्नका निमित्त यहाँले अवसर मिलाइदिनुहुने विश्वास राखेको छु।

तपाईको जानकारीको लागि मलाई फिफाबाट गरिएको कार्बाही तपाईका आरोपका आधारमा नभई एसियाली फुटबल महासंघका तत्कालिन अध्यक्ष मोहम्मद बिन हमामले गरेको पारिवारिक सहयोगको विषयमा कन्फ्लिक्ट अफ इन्टरेस्ट शीर्षकमा भएको हो ।

मैले अहिले राख्न खोजेको विषय फिफासँग सम्बन्धित नभई तपाईले ममाथि लगाउनुभएका निराधार आरोपहरुको विषयमा मात्र हो ।

अन्तमा, तपाईले लगाएका आरोपहरु प्रमाणित भएमा म जुनसुकै सजाय भाग्नको निमित्त तयार रहेको पुनः जानकारी गराउँछु ।

अन्यथा एन्फाको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ अनुसार एउटा निर्दोष व्यक्तिलाई विना आधारको आरोप लगाएको कारण तपाई स्वयम कार्वाहीको भागिदार बन्नु पर्नेछ।

Copy link
Powered by Social Snap