२०८० चैत्र १५

नेपाली क्रिकेटको हविगत: लक्ष्य विश्वकप, बन्द प्रशिक्षण हुनै लाग्दा पनि टिम लथालिङ्ग

सन् २०२२ को अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा आइसिसी टी-२० विश्वकप आयोजना हुँदैछ। १६ टिमबीच प्रतिस्पर्धा हुने विश्वकपका लागि १२ टिमको टुंगो लागिसकेको छ। ४ टिमको टुंगो लाग्न बाँकी छ।

टी-२० विश्वकपमा छनोट हुन बाँकी ४ टिमका लागि १६ टिमबीच विश्व छनोटमा प्रतिस्पर्धा हुँदैछ। आइसिसीले १६ टिमलाई पनि दुई समूहमा विभाजन गर्दै एक समूहमा ८ टिमलाई समावेश गरेको छ। ८ टिम सम्मिलित समूहबाट शीर्ष २-२ टिम गरी ४ टिमले १० महिनापछि अस्ट्रेलियामा हुने विश्वकपको टिकट काट्नेछन्।

नेपाल आइसिसी टी-२० वरीयताको आधारमा यसअघि नै विश्व छनोटमा पुगिसकेको छ। नेपाल छनोटको समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसहित आयरल्यान्ड, ओमान,  बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्।


Advertisement


आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुने छनोटमा नेपाल शीर्ष दुईमा पर्न सके विश्वकप खेल्नेछ। छनोटमा आयरल्यान्ड र ओमान नेपालका बलिया प्रतिद्वन्द्वी हुन्। बाँकी ५ टिमलाई हराएर ओमान वा आयरल्यान्ड मध्ये एकलाई पराजित गर्न सके नेपाल टी-२० विश्वकपमा पुग्ने प्रबल सम्भावना छ।

विश्वकप छनोटअघि नेपाली टिम विवादको भूमरीमा फसेको छ। खेलाडी वर्गीकरणबाट सुरू भएको विवाद अहिले कप्तान परिवर्तनसम्म पुगिसकको छ। राष्ट्रिय टिमका कतिपय खेलाडीले कप्तान परिवर्तनको सामाजिक सञ्जालमा विरोध जनाइसकेका छन्। नयाँ कप्तानको जिम्मेवारी पाएका सन्दीप लामिछानले आफू कप्तान बनेकोमा खुसी व्यक्त गरे पनि विवादको विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।

क्यानका बोर्ड सदस्यहरू पनि विवादमा विभाजित भएका छन्। बोर्ड सदस्य मात्र होइनन् खेलाडीहरू समेत विभाजित भएको सामाजिक सञ्जालमा व्यक्त विचारबाट देखिन्छ। अहिलेको विवादले नेपाली क्रिकेट फ्यानहरूमा पनि विभाजन ल्याएको छ। विश्वकप छनोटमा एक ढिक्का भएर खेल्नु पर्ने राष्ट्रिय टिममा देखिएको विभाजनले दीर्घकालमा नेपाली क्रिकेटलाई घाटा पर्ने पक्का छ।

गत कात्तिकमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले वर्गीकरणको विषयमा आफ्नो असन्तुष्टि पोखेका थिए। खेलाडीले असन्तुष्टि व्यक्त गरेको क्यान पदाधिकारीलाई चित्त बुझेन। खेलाडीलाई स्पष्टीकरण सोध्दै चेतावनी दिए। 

लगत्तै खेलाडीले स्पष्टीकरण मात्र बुझाएनन् खेलाडीका लागि सुविधा नभएको भन्दै विभिन्न मागपत्र प्रस्तुत गरे। स्पष्टीकरणसँगै मागपत्र बुझाएपछि क्यान झन् चिढियो। त्यसपछि आक्रामक बनेको क्यानले ७२ घन्टे दोस्रो स्पष्टीकरण सोध्यो। खेलाडीले वर्गीकरण चित्त नबुझेकाले असन्तुष्टि व्यक्त गरेको पुरानै स्पष्टीकरण दोहोर्‍याए। 

त्यसपछि क्यानको छानबिन समितिले चार खेलाडीलाई कारबाहीको सिफारिस गर्‍यो। खेलाडी वर्गीकरण समितिमा रहेका क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल छानबिन समितिका पनि संयोजक थिए।

दुई सातापछि क्यानले ज्ञानेन्द्र र दीपेन्द्रलाई क्रमश: कप्तान र उपकप्तानबाट हटायो। उनीहरूसहित सोमपाल र कमलसिंहलाई सन् २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय गर्‍यो।

वर्गीकरणमा असन्तुष्टिबाट विवाद सुरू भए पनि क्यानले ज्ञानेन्द्रलाई ‘गुटबन्दी’ गरेको गम्भीर आरोप लगाउँदै कप्तानबाट हटायो। साथै नयाँ कप्तान पनि तत्काल नियुक्त गर्‍यो।

चार खेलाडीलाई कारबाही गरेपछि राष्ट्रिय टिमका केही खेलाडीले सामाजिक सञ्जालबाट असन्तुष्टि व्यक्त गरेका थिए। जसमा करण केसी, रोहितकुमार पौडेल, विनोद भण्डारी, कुशल भुर्तेल र अविनाश बोहोरा छन्। लगत्तै नेपाली सिनियर टिमले यू-१९ टिमसँग अभ्यास खेल खेल्नसमेत अस्वीकार गरेको थियो।

टिम विभाजित भएकाले नेपाली टिमको टी-२० विश्वकप छनोटको तयारीमा समेत असर परिरहेको छ। यसअघि अघिल्लो सातादेखि पोखरामा गर्ने भनिएको बन्द प्रशिक्षण विवादकै कारण हुन सकेन।

यो बीचमा दोस्रो पटक राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका पुबुदु दसानायके नेपाल आए। उनी नेपाल आएपछि विवाद समाधान हुने विश्वास गरिएको थियो।

बिहीबार पत्रकार सम्मेलनमा दसानायकेले कप्तान छनोट गर्ने अधिकार क्यानको भएको बताए। उनले अन्य विषयको विवाद भने समाधान हुने बताए। यो भनाइपछि कारबाहीमा परेका खेलाडी चित्त बुझाएका छैनन्। वर्गीकरणको समस्या समाधान हुने भए त्यसैका कारण कप्तानीबाट हटाइएको कारबाही कायम रहनुले क्यानले कतिपय खेलाडीमाथि ‘तुस’ पालेको उनीहरूको बुझाइ छ।

दसानायकेले शनिबारदेखि बन्द प्रशिक्षण सुरू गर्ने भन्दै ३० जना खेलाडीलाई बोलाएका छन्। जसमा कारबाहीमा परेका ४ क्रिकेटरको पनि नाम छ। उनीहरू शनिबारको बन्द प्रशिक्षणमा उपस्थित हुने वा नहुने अहिले टुंगो छैन।

दोस्रो इनिङ सम्हाल्दा दसानायकेको पहिलो चुनौती नै टिमलाई एकजुट बनाउने देखिएको छ। बिहीबार पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका दसानायकेमाथि पत्रकारहरूको मुख्य प्रश्न यही नै थियो। 

‘अहिले नेपाली टिममा ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने गरी मुख्य दुई पक्षमा देखिएको छ। यस्तोमा नेपाली टिमलाई एक बनाउन कस्तो चुनौती छ? यसले नेपाली टिमको प्रदर्शनमा असर गर्दैन?’

पुबुदुको उत्तर थियो, ‘मेरो काम टिम एक बनाउने हो। राष्ट्रिय झण्डामूनि खेल्ने एक टिम बनाउनु हो।’ 

स्पष्ट जवाफ दिन नसकेका पुबुदुलाई ‘कारबाही फिर्ता नभए राष्ट्रिय टिमबाट कतिपय खेलाडी नखेले के हुन्छ?’ भन्ने प्रश्न पनि गरिएको थियो। 

‘त्यस्तो हुँदैन भन्ने मेरो आशा छ,’ उनले झट्ट उत्तर फर्काए।

Copy link
Powered by Social Snap