२०८१ बैशाख १२

भीम रावललाई पार्टीमा जिम्मेवारी चाहिए अध्यक्ष ओलीसँग सल्लाह गर्न सक्नुहुन्छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गरेका भीम रावल पार्टीको सल्लाहकारको भूमिकामा रहेको बताएका छन्। 


Advertisement


नेकपा एमालेको दोश्रो केन्द्रीय समिति बैठकले पदाधिकारी सहित पार्टीका सबै केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेको थियो।

उक्त बैठकको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेका महासचिव पोखरेलले भीम रावल केन्द्रीय कमिटीमा नरहेको कारण कार्यविभाजनमा नसमेटिएको बताए। 

‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनु भएन त्यसकारण उहाँको कार्यविभाजनमा रहनु भएन’, पोखरेलले भने, ‘नितिगत निर्णयले उहाँ सल्लाहकार परिषद् सदस्य हुनुहुन्छ। समय समयमा पार्टीलाई सल्लाह दिन सक्नुहुन्छ। पार्टीले सल्लाह ग्रहण गर्नेछ।’

उनले रावलले थप जिम्मेवारी चाहे अध्यक्ष केपी ओलीसँग छलफल गर्न सक्ने बताए। 

‘त्यो बाहेकका विषयमा जिम्मेवारी वहन गर्न तयार भए अध्यक्षसँग सल्लाह गर्न सक्नुहुन्छ’, पोखरेलको टिप्पणी थियो।

उनले एमालेमा कार्यविभाजन गर्दा आम सहमति भएको दाबी गरे। एकाध गुनासा बाहिर आएका कारण अलिक बढी जस्तो देखिएको उनको टिप्पणी थियो। केहीको गुनासो अन्तरपार्टी निर्देशन जारी गर्ने क्रममा सम्बोधन भएको उनले उल्लेख गरे।

Copy link
Powered by Social Snap