२०८१ बैशाख १४

एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् : पौडेल

काठमाडौँ — कांग्रेस नेता रामचन्द्र पौडेलले एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता भएको बताएका छन् । नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बुधबार बिहान बधाई दिँदै पौडेलले लोकतन्त्र र संविधान अहिले पनि खतरामुक्त नभइसकेको अवस्थामा सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुग्नुपर्ने बताए ।


Advertisement


पौडेलले लेखेका छन्, ‘हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौ । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थीरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् ।’

प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।

Copy link
Powered by Social Snap