२०८१ बैशाख १२

२ हजारमा व्यवसाय सुरू गरिन्, मासिक कारोबार २५ हजारदेखि लाखसम्म

ओ माई ह्यान्डमेडकी सञ्चालक सुष्मा कार्की। 

नयाँ बानेश्वरको एउटा सानो पसलले हरेक बटुवाको ध्यान तान्छ। 

यहाँ चित्रकलाले भरिएका स-साना क्यानभास, मोबाइलका खोल, टोट ब्याग (झोला) र सिरानीका खोलहरू राखिएको छ। योसँगै केही कप र घरभित्र राखिने बिरूवाहरूले पसल सजिएको छ। 

सानो भए पनि पसलको सजावट लोभलाग्दो छ। पसलको नाम हो ‘ओ माई ह्यान्डमेड’। 

ओ माई ह्यान्डमेड यस्तै चिटिक्क परेका, हातैले बनाइएको सामग्रीहरू पाइने थलो हो। पसल एवम् यो व्यवसायका सञ्चालक हन् २४ वर्षीया सुष्मा कार्की। 


Advertisement


पसल चलाउने मात्रै होइन, ओ माई ह्यान्डमेडमा उपलब्ध हरेक सामान सुष्मा आफैं बनाउँछिन्। विगत सात वर्षदेखि सञ्चालित ‌ओ माई ह्यान्डमेडको यो पसल भने गत भदौमा मात्र खुलेको हो।

‘पहिले ओ माई ह्यान्डमेड अनलाइनमा मात्र केन्द्रित थियो। ग्राहकसँग सोधपुछ गर्दा धेरैको पसलमा चासो देखियो,’ सुष्माले भनिन्, ‘त्यसैले व्यवसाय विस्तारको योजनासहित पसल खोलेँ।’

पसल खुलेपछि अहिले ग्राहक बढी आउन थालेको र आम्दानी पनि पहिलेभन्दा बढेको उनी बताउँछिन्। 

सुष्माले एसएलसी सकेपछि फुर्सदको समयमा ओ माई ह्यान्डमेड सुरू गरेकी हुन्। उनले २०७० सालमा काव्य विद्यालयबाट एसएलसी पास गरिन्। पछि प्लसटुका लागि कलेज अफ म्यानेजमेन्टमा भर्ना भइन्। यहीँबाट स्नातक सकिन्। उनले हालै बिएबिबिआई (बैंकिङ एन्ड इन्स्योरेन्स) मा स्नातक सकेकी छन्। उनी पेसागत रूपमा मेक-अप आर्टिस्ट पनि हुन्। 

सानैदेखि सुष्मा पढाइभन्दा रचनात्मक र अतिरिक्त क्रियाकलापमा सक्रिय थिइन्। उनलाई चित्रकला खुबै मनपर्ने। त्यसैले फुर्सद मिल्नेबित्तिकै यसैमा लाग्थिन्। एसएलसी सकेपछिको तीन महिना बिदामा उनी चित्रकलामै लागिन्। त्यस बेला उनले तन्ना र सिरानीका खोललाई आफ्नो क्यानभास बनाइन्। सुष्माकी आमाको कपडा पसल छ। यहाँ तन्ना, सिरानीका खोल, टेबल क्लोथ, पर्दा जस्ता कपडा पाइन्छ। 

सुष्मा घरमा यसै बस्नुभन्दा केही गरिरहनुपर्ने स्वभावकी छन्। त्यसैले आमाको पसलबाट बाँकी भएका टुक्रा कपडामा चित्रकला थालिन्। अनि त्यसलाई कोठामा सझाएर राखिन्।

उनलाई यसरी सजाएर राख्ने गरेका सामानले बजार लिन्छ भन्ने थाहा थिएन। ती सामान उनकी दिदी सीमालाई पनि मनपर्थ्यो। सीमाले सधैंजसो भन्थिन्, ‘सुष्माले साँच्चै कस्तो राम्रो आर्टहरू गर्छे!’

एकदिन घरमा सीमाकी साथी सेलिना राजभण्डारी आइन्। सुष्माका चित्रकला र कोठाको सजावट देखेर दंगै परिन्। अनि यसलाई व्यवसायिक रूपमा लैजान सुझाइन्।

‘सेलिना दिदीले इन्स्टाग्राममा खाता बनाएर मैले बनाएका चित्रकला पोस्ट गर्न र बिक्रीका लागि राख्न सकिने सल्लाह दिनुभयो। दिदीले भनेजस्तै गरेँ। खाताको नाम पनि उहाँले नै सुझाउनुभयो,’ सुष्मा आफ्नो व्यवसाय सुरूआतबारे भन्छिन्, ‘यसरी ओ माई ह्यान्डमेड सुरू भएको हो।’

सुष्मालाई आफूले पहिलोपटक सामान बेचेको मिति समेत याद छ- २०७१ साल असोज ५ गते। उनले सिरानी र सिरानीको खोलमा चित्र बनाएर बेचेकी थिइन्। व्यवसाय सञ्चालन गरेको छोटो समयमै माग बढ्दै गएपछि उनी यसलाई निरन्तरता दिने सोचसँगै अघि बढिन्।

सिरानी खोलमा कला बनाएर सुरू भएको व्यवसायमा अहिले झन्डै आधा दर्जन सामग्री छन्। ओ माई ह्यान्डमेडमा टोट ब्याग, पाउच (हातमा बोक्ने सानो झोला), क्यानभास आर्ट, फोनका खोल लगायत सामग्री पाइन्छ। त्यस्तै यसको पसलमा अन्य नेपाली ब्रान्डका सामान पनि छज्। जस्तै सेरामिक कप, मैनबत्ती, बिरूवा, गमला।

सुष्माले झन्डै दुई वर्षअघिदेखि टोट ब्यागमा चित्रकला भरेर बेच्न थालेकी हुन्। जुन ब्याग अहिले निकै चल्तीमा छ।

उनी अनुहारबिना मान्छेका चित्र र पोर्ट्रेट बनाउँछिन्। यसका लागि एउटा ६ इन्च लम्बाइ, ५ इन्च चौडाइ र अर्को १० इन्च लम्बाइ, ८ इन्च चौडाइका क्यानभास प्रयोग गर्छिन्। क्यानभासमा कला तयार हुन झन्डै ६ दिन लाग्छ। यसको मूल्य २ हजार रूपैयाँसम्म पर्छ।

‘पहिले कपडामा बढी काम गर्थेँ। पछि क्यानभासमा इलुस्ट्रेसन आर्ट अर्थात् मान्छेको शारीरिक आकृति बनाउन थालेँ,’ उनी भन्छिन्, ‘लकडाउनका बेला बजारमा क्यानभास आर्ट पनि खुबै देखिन थाल्यो। त्यसपछि नयाँ अवधारणासँगै फोनको खोलमा इलुस्ट्रेसन आर्ट सुरू गरेँ।’

चित्र कोरिएका मोबाइल खोलको मूल्य १५ सय रूपैयाँसम्म पर्छ। एउटा मोबाइल खोल तयार हुन झन्डै ९ दिन समय लाग्ने उनी बताउँछिन्। चित्र पानीले नबिग्रियोस् भनेर छुट्टै ‘कोटिङ’ पनि गरिन्छ। सुष्मा क्यानभास, टोट ब्याग कलामा पनि पानी प्रतिरोधी रङ प्रयोग गर्छिन्। 

केही ग्राहकले यहाँका सामान महँगो भएको प्रतिक्रिया उनलाई दिन्छन्। 

यसमा उनी भन्छिन्, ‘इलुस्ट्रेसन आर्टमा मान्छेको अनुहारबिना ती व्यक्तिलाई चिनिने बनाउनुपर्छ। यस्तोमा स-साना विवरणमा ध्यान दिनुपर्छ। समय पनि बढी लाग्छ। त्यहीअनुसार मूल्य तोक्छौं। कतिपयले बुझ्नुहुन्छ। कतिपयलाई बुझाउनुपर्छ।’ 

ओ माई ह्यान्डमेडमा १५० रूपैयाँदेखि १२ हजारसम्मका सामान उपलब्ध छन्। ओ माई ह्यान्डमेडका प्रायः सामग्री युवा लक्षित छन्। सुष्माले छिट्टै ल्यापटप हाल्न सुरक्षित र सहज हुने टोट ब्याग उत्पादन गर्दै छिन्। हाल यहाँ आठ सयदेखि दुई हजारसम्म पर्ने टोट ब्याग उपलब्ध छ। 

उनी बजारमा सामग्रीको नक्कल गरेर व्यवसाय गर्ने प्रवृत्तिमा भने असन्तुष्टि व्यक्त गर्छिन्।

‘ओ माई ह्यान्डमेडका सामानका फोटो अरू सामाजिक सञ्जालमा पोस्ट गरेर उपलब्ध छ भन्ने पनि पाएँ। यसो गर्दा ग्राहकको भरोसा जित्न गाह्रो हुन्छ,’ सुष्माले भनिन्। त्यस्ता व्यवसायीलाई सामग्री नै आफ्नो हो जस्तो नगर्न आग्रह गर्छिन् उनी।

ओ माई ह्यान्डमेडका सामान अनलाइनमा वा यसको पसलमा किन्न सकिन्छ। डेलिभरीका लागि उनले उपाय सिटी कार्गोसँग सहकार्य गरेकी छन्। फुर्सद हुँदा आफैं डेलिभरी गर्न पुग्छिन्।

यहाँका सामान किन्न पहिल्यै पैसा बुझाउनुपर्छ। सुष्माले सुरूका दिनमा केही ग्राहकको व्यवहारदेखि आजित भएर यस्तो नियम राखेकी हुन्। उनका अनुसार कतिपय ग्राहकले अर्डर दिएर पछि सामान लिन्थेनन्। कुनै एक ग्राहकले भनेअनुसार बनाइएको सामान अर्कोले लिँदैन।

‘हाम्रो मेहनत र समय व्यर्थै जान्थ्यो,’ उनी भन्छिन्, ‘त्यसैले अहिले डेलिभरी अगाडि नै पैसा लिन्छौं। बरू ग्राहकको चित्त नबुझे पुनः काम गर्न तयार छौं।’

बजार विस्तारसँगै सुष्मा एक्लैलाई सबै जिम्मेवारी सम्हाल्न भ्याइ-नभ्याइ भयो। त्यसैले चित्रकलामा रूचि भएका चार जना विद्यार्थीलाई कम्पनीमा नियुक्त गरेकी छन्। उनीहरूको रूचि पनि पूरा हुने, खर्च पनि जुट्ने। यसले सुष्मालाई खुसी मिलेको बताउँछिन्।

सुष्माले आफ्नै व्यवसाय सम्हाल्दै अरूलाई रोजगारी दिएको देख्दा उनको परिवार पनि खुसी छ। सुरूका दिनमा बुवालाई सुष्माले व्यवसायभन्दा जागिर गरून् भन्ने लाग्थ्यो। तर सुष्माले बुझाइन् र बुवाबाट पनि पूर्ण समर्थन मिल्यो।

‘बाबाले नै पसल सञ्चालनमा मद्दत गर्नुभयो। यो ठाउँ पहिले ममीको पसलका सामान राख्ने गोदाम थियो। मैले आफैं पसल राख्ने भनेपछि आमाबुवाले नै यहाँको व्यवस्थापन सहयोग गर्नुभयो,’ सुष्माले दंग हुँदै सुनाइन्।

उनको पसलको सजावटले नै यो बाटो हिँड्ने प्रायःको ध्यान तान्ने उनी बताउँछिन्।

ओ माई ह्यान्डमेडका सामान काठमाडौं बाहिरका जिल्ला र विदेश पनि पुगेका छन्। तर पठाउने शुल्क बढी भएकाले मागअनुसार विदेश पठाउन सकेकी छैनन्।

सुष्माले जम्मा दुई हजार रूपैयाँमा आफ्नो व्यवसाय सुरू गरेकी थिइन्। उनका अनुसार घरमै भएका सामानबाट सुरू भएको ओ माई ह्यान्डमेडले अहिले मासिक २५ हजारदेखि एक लाख रूपैयाँसम्मको कारोबार गर्दैछ।

‘आफूलाई रूचि भएको काममा राम्रो प्रतिक्रिया र प्रतिफल पाउँदा आनन्द लागेको छ,’ उनी भन्छिन्, ‘तर काम थालेपछि निरन्तरता र समर्पण भने दिन सक्नुपर्छ।’

Copy link
Powered by Social Snap