२०८१ बैशाख १३

वर्गीकरणमा असन्तुष्टि जनाउने कप्तान मल्लसहित चार क्रिकेटरलाई कारबाहीको त्रास

नेपाल क्रिकेट संघ (क्यान) ले गठन गरेको छानविन समितिले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार जना खेलाडीलाई कारबाही गर्नुपर्ने निश्कर्ष निकालेको छ। 

गत महिना खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई छानविन समितले सुरूमा स्पष्टीकरण सोधेको थियो। 

पहिलो स्पष्टीकरणमा खेलाडीहरूले वर्गीकरण गलत भएकोले अन्तर्वार्ता दिएको भन्दै जवाफ पठाएका थिए। तर यो स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै छानविन समितिले दोस्रो पटक स्पष्टीकरण सोधेको थियो। दोस्रो पटक पनि खेलाडीले आफ्नो भनाइ परिवर्नत गरेनन्।


Advertisement


त्यसपछि छानविन समितिले कारबाही गर्नु पर्ने निश्कर्ष निकालेको हो। समितिले कस्तो कारबाही गर्ने विषयमा भने केही खुलाएको छैन।

क्यानका एक सदस्यले उपलब्ध गराएको समितिको प्रतिवेदनको निश्कर्षमा भनिएको छ, ‘यस समितिको बैठकद्वारा उक्त चार जना खेलाडीहरूमा मूल संस्थाप्रति आफ्नो कुनै पनि उत्तरदायित्व र जिम्मेवारी नरहेको र कप्तान ज्ञानेन्द्रले लिडरको रूपमा आफ्नो जिम्मेवारी निभाउन असफल रहेको पाएका छौं। यस समितिले यी चार खेलाडीले पूर्ण रूपले अनुशासन उल्लंघन गरेको ठहर गर्दै केन्द्रीय कार्यसमितिसमक्ष उचित कारबाहीको सिफारिस गर्दछौं।’

छानविन समितिका संयोजक तथा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले छानविन समितिले प्रतिवेदन तयार गरेर बुझाएको बताए। तर उनले खेलाडीलाई कारबाहीको सिफारिस गरिएको हो वा होइन खुलाउन चाहेनन्। 

‘समितिले आफ्नो काम पूरा गरेर अध्यक्षज्यूलाई प्रतिवेदन बुझाएको छ। कारबाहीको सिफारिस समितिले किन गर्नु र! कारबाही गर्ने/नगर्ने त्यो त बोर्ड त निर्णय हो। हामीले जे देख्यौं, त्यहीँ प्रतिवेदन बुझाउने हो,’ मल्लले प्रतिवेदनबारे भने, ‘आफ्नो असन्तुष्टिको विषयमा क्यानमा निवेदन नदिई मिडियामा बोलेपछि क्यानको ध्यानाकर्षण भएको थियो। सुरूमा स्पष्टीकरण सोध्दा स्पष्ट जवाफ आएन। केही राम्रो आउँछ कि भनेर दोस्रो पटक स्पष्टीकरण सोध्यौं। तर त्यसमा पनि उस्तै भयो। त्यसपछि हामीले भोगेको र देखेको विषय समेटेर क्यानलाई प्रतिवेदन बुझाएका छौं।’

अब यो विषयमा निर्णय गर्ने जिम्मा बोर्डलाई भएको मल्लले बताए।

‘अब के गर्ने भन्ने विषय बोर्डको अधिकार हो। बोर्डका सदस्यहरूले प्रतिवेदन अध्ययन गर्नुहुन्छ अनि निर्णय हुन्छ,’ उनले भने।

क्यानले पहिलो स्पष्टीकरण सोधेलगत्तै राष्ट्रिय टिमका दर्जन बढी खेलाडीले हस्ताक्षरसहित क्यानसमक्ष ११ बुँदे माग राखेका थिए।

यसपछि भने क्यान खेलाडीप्रति असन्तुष्ट रहेको देखिएको छ। जुन कुरा कार्यवाहक सचिव मल्लले नेपालखरबरसँगको अन्तर्वार्तामा व्यक्त गरेका छन्। सो अन्तर्वार्तामा खेलाडीप्रति आक्रामक देखिएका मल्लले खेलाडीहरूलाई जबरजस्ती हस्ताक्षर गराएको गम्भीर आरोप लगाएका थिए। साथै उनले कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो शक्तिको दुरूपयोग गरेको समेत बताएका थिए। 

११ बुँदे मागमा हस्ताक्षर गरेको विषयमा क्यानका क्रिकेट म्यानेजर विनोद दासले राष्ट्रिय टिमका खेलाडीहरू आरिफ शेख, आशिफ शेख र पवन सराफसँग एक होटलमा छलफल गरेको क्यान स्रोतको भनाइ छ। खेलाडीहरूले आफ्ना माग राख्दा शेख दाजुभाइ भारतमा थिए। उनीहरूले आफ्नो हस्ताक्षर उतैबाट पठाएका थिए। सो विषयमा क्यान संशकित भएको देखिएको छ। यही कारण मिडियामा बोलेको विषयलाई लिएर खेलाडीलाई कारबाही गर्न क्यान उद्यत भएको स्रोतको दाबी छ।

क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतम भने असन्तुष्टि व्यक्त गरेकै भरमा खेलाडीलाई कारबाही गर्ने सिफारिस गर्नु उचित नभएको बताउँछन्।

‘पहिलो त खेलाडीले क्यानविरूद्ध बोलेको छैनन् जस्तो लाग्छ। उनीहरूले वर्गीकरणमा भएको त्रुटी विषयमा आफ्नो धारणा राखेका हुन्। कारबाही गर्नुपर्छ भन्ने लाग्दैन,’ उनले भने, ‘यस विषयमा हामीले बोर्डमा छलफल गरेर समाधान निकालौं भन्ने भनेका छौं। तर अहिलेसम्म बोर्डमा छलफल हुन सकेको छैन।’

अर्का केन्द्रीय सदस्य छुम्बी लामा पनि कारबाही समस्याको समाधान नभएको बताउँछन्। 

‘मुख्य कुरा समस्याको समाधान के हो त्यो पहिचान गर्नुपर्छ। वर्गीकरण समितिले गल्ती गरेको हो कि हामीले ढिलाइ गर्‍यौं छलफल गर्नुपर्छ। दोस्रो कुरा कारबाही निकास होइन। कारबाहीले विवाद बढ्दै जान्छ। यसको घाटा नेपाली क्रिकेटलाई हुने हो,’ उनले भने।

लामाको पनि आफ्ना असन्तुष्टि खेलाडीले व्यक्त गर्नु पाउनु पर्ने धारणा छ।

उनले भने, ‘खेलाडीले बोल्न पाउने अधिकार हुन्छ। खेलाडीले संघको विरूद्ध या संघलाई बदनाम बनाउने कुरा हो भने त्यसमा छलफल गर्ने पाटो रहन सक्छ। होइन भने खेलाडीले आफ्ना गुनासोबारे बोल्न पाउने नैसर्गिक अधिकार हो। आज हाम्रो देशमा संवैधानिक निकायका प्रमुखको विषयमा त कुराहरू आइरहेका छन् भने खेलाडीले आफ्नो कुरा बोल्न पाउनु उनीहरूको अधिकार हो।’

Copy link
Powered by Social Snap