२०८१ बैशाख ८

होबार्टले पहिलो जित निकाल्दा सन्दीप विकेटविहिन

बिग ब्यास लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा होबार्टले पहिलो जित निकाल्दा नेपाली युवा सन्दीप लामिछाने विकेटविहिन बनेका छन्। 

सिड्नीको घरेलु मैदानमा होबार्टले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी सिक्सर्सले निर्धारित १८ ओभरमा १५१ रन मात्र बनाउन सक्यो। 


Advertisement


वर्षाले केही बेर खेल अवरूद्ध हुँदा सिड्नीले १८ ओभरमा १९६ रनको नयाँ लक्ष्य पाएको थियो। 

सिड्नीको लागि जोश फिलिपेले सर्वाधिक ७२, मोइसेस हेनरिक्स र जेम्स भिन्सले २६ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

होबार्टका लागि जोयल पेरिसले ३ तथा नाथन इलिसले १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको होबार्टले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको थियो। 

उसका लागि कप्तान तथा ओपनर म्याथु वेडले सर्वाधिक ९३ रन बनाए। सतक बनाउन ७ रनले चुकेका उनले ४६ बलमा ९ चौका र ५ छक्का प्रहार गरे। 

यस्तै ड्यार्सी सर्टले ५१ बलमा ७ चौका र ३ छक्का मद्दतले ७३ तथा कलेब ज्वेलले २३ बलमा ६ चौका र १ छक्का मद्दतले ४२ रन जोडे। वेड र सर्टले पहिलो विकेटका लागि १११ रनको ओपनिंग साझेदारी गरेका थिए। यस्तै दोस्रो विकेटको लागि सर्ट र ज्वेलबीच ९८ रनको साझेदारी भएको थियो।

यस्तो रह्यो सन्दीपको बलिङ

सिड्नी सिक्सर्सबिरुद्ध खेलमा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका सन्दिपले ४ ओभरमा मात्र २४ रन मात्र खर्चिए। खेलमा अन्य बलरको दाँजोमा किफायती बलिङ गरे पनि सन्दिपले विकेट लिन सकेनन्। उनको दुई वटा क्याच छुट्न पुग्यो भने एउटा स्टम्पिङको अवसर पनि गुमेको थियो।

सन्दिपले आफ्नो पहिलो ओभरमा ८ रन खर्चिए। यस्तै दोस्रो ओभर बलिङका क्रममा सन्दिपको पहिलो बलमै ४१ रन बनाएका जोश फिलिपेको क्याच डिप-स्क्वायर लेगमा फिल्डरले क्याच छुटाएका थिए। त्यसपछि ओभरको तेस्रो बलमा कभरमा पिटर ह्यान्ड्सकम्बले मोइसेस हेन्ड्रिक्सको क्याच छुटाउँदा सन्दीप विकेट लिन बञ्चित रहे। दोस्रो ओभरमा उनले ५ रन खर्चिएका थिए। 

यस्तै उनले आफ्नो तेस्रो ओभरमा पनि विकेट लिने अवसर गुमाए। ओभरको चौंथो बलमा सन्दिपले फिलिपेलाई सहज रन आउट गर्न सकेनन्। त्यसपछि ओभरको अन्तिम बलमा विकेटकिपर म्याथु वेडले स्टम्पिङको अवसर गुमाउँदा सन्दिपले विकेट लिने तेस्रो अवसर गुमाए। यो ओभरमा उनले ४ रन खर्चिए।

सन्दिपले आफ्नो अन्तिम ओभरमा एक चौकासहित ९ रन खर्चिए।

४ ओभर बलिङ गर्ने क्रममा सन्दिपले २४ रन खर्चिए जसमा एउटा चौकाबाहेक बाउन्ड्री दिएनन्। उनले ८ बल डट फालेका थिए।

लिग अन्तर्गत पहिलो खेलमा सन्दिपले सिड्नी सिक्सर्स बिरूद्धनै २४ रन खर्चेर ड्यानियल क्रिस्चियनको विकेट लिएका थिए।
लिग अन्तर्गत होबार्टले आफ्नो तेस्रो खेल  मंगलबार पर्थ स्कर्चर्स विरूद्ध खेल्नेछ।

Copy link
Powered by Social Snap