२०८० चैत्र १६

गगनको नारामा ओलीको टिप्पणी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका छन्।

शुक्रबार नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरूलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका हुन्। 


Advertisement


नेपालमा कूटनीतिक क्षेत्रमा काम गरेर फर्किएको एक कूटनीतिज्ञले लेखेको पुस्तकले सो कुरा स्पष्ट पारेको उनले उल्लेख गरे। 

नेपालमा अराजकता भित्रिन नदिने एमाले भएकाले पुस्तकमा एमाले र आफूविरूद्ध लेखिएको पनि उनले बताए। 

अध्यक्ष ओलीले नेपालमा विदेशीको हातको नियन्त्रित अराजकता र अस्थिरता पस्न नदिने र पसिहालेमा पराजित गर्ने बताए।

उनले भने,‘एउटा नेपालमै लामो समय कूटनीतिक सेवा गरेर फर्किएको एउटा विदेशीले के लेखेको छ किताबमा भने, एउटा किताब निकालेको छ त्यो किताब पहिलो कुरो एमालेविरूद्ध छ। अलिक राम्रैसँग मेराविरूद्ध छ। उद्देश्य के छ, के हो उनको देशको उद्देश्यभन्दा नेपालमा नियन्त्रित अराजकता फैलाउने। एउटा कूटनीतिज्ञले कबुल गर्छ लिखित रूपमा अनेकपल्ट हेरेर, लेखेर, सम्पादन गरेर प्रकाशन गरेको, सुविचारित ढंगले प्रकाशित गरेको पुस्तकमा।’ 

अध्यक्ष ओलीले राजनीतिक पार्टीले नै राष्ट्रियता र राष्ट्रिय एकता जोगाउने उल्लेख गर्दै त्यसका लागि स्पष्ट राष्ट्रिय दृष्टिकोण हुनुपर्ने बताए।

एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को स्पष्ट दृष्टिकोण भएको उनको भनाइ छ। 

एमालेको दृष्टिकोणलाई संशोधन गरेर ‘समुन्नत नेपाल: सम्मानित नेपाली’ बनाइएको भन्दै उनले टिप्पणी गरे। 

नेपाली कांग्रेसका युवा नेता तथा १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका गगन थापाले ‘समुन्नत नेपाल: सम्मानित नेपाली’ को नारा अघि सारेका थिए। 

ओलीले सोही नाराप्रति टिप्पणी गरेका हुन्। 

उनले भने,  ‘आजकाल अलिअलि सुन्न थालिया छ, हामीले समृद्ध नेपाल सुखी नेपाली भन्यौं। अहिले त्यसबाट अलिअलि यताउता पार्न खोज्या, समुन्नत नेपाल सम्मानित नेपाली पो हुनुपर्छ भन्ने यताउता त्यसमा संशोधन गरेर चिन्तकहरू निस्किन खोज्या देखिन्छ। राम्रो कुरा हो त्यो। तर पहिले यस्तै भएको थियो। आफ्नो गाउँ आफैं बनाऔं एउटा अभियान चलेको थियो। त्यसलाई अनेक खालका नाममा त्यसलाई परिवर्तन गर्न खोजियो।’

उनले अब बस्ने केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण काम गर्ने उल्लेख गरे। एमालेलाई आराम गर्ने फुर्सद नभएको भन्दै सक्रियतापूर्वक काममा लाग्न र पूरै देशलाई नै कामरेडमय बनाउन उनले नेताहरूलाई आग्रह गरे।

Copy link
Powered by Social Snap