२०८१ बैशाख १३

पाँचौ जित निकाल्दै लुम्बिनी फाइनलमा, दोस्रो स्थानको सुदूपश्चिमले प्रदेश एकलाई हरायो

वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पाँचौ जित हात पारेको छ। बुधबार कीर्तिपुरमा भएको खेलमा प्रदेश २ लाई ९ विकेटले पराजित गरेको हो। जितसँगै लुम्बिनी फाइनलमा पुगेको छ।

लुम्बिनीले १६९ रनको लक्ष्य १ विकेटको क्षतिमा २६.५ ओभरमा पूरा गर्‍यो। लुम्बिनीका लागि कप्तान देव खनालले नटआउट ६२ रन र प्रज्वल थापाले नटआउट १३ रन जोडे। त्यसअघि ओपनर आकाश त्रिपाठी ५७ रन जोडेर आउट भए।


Advertisement


त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ अलआउट हुने क्रममा ३९.५ ओभरमा १६८ रनमा समेटियो। प्रदेश २ का लागि ओपनर सन्तोष कार्कीले ८२ रनको योगदान गरे।

गुल्शन झाले ३२ रन र अदिल अन्सारीले नटआउट २२ रन जोडे। बलिङमा लुम्बिनीका वासिर अहमेदले ५ विकेट लिए। विशालविक्रम केसीले ३ विकेट र राहुल चौधरीले २ विकेट हात पारे। 

यता सुदूरपश्चिमले तेस्रो जित हात पारेको छ। सुदूपश्चिमले बुधबार मुलपानी मैदानमा भएको खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको प्रदेश १ खराब ब्याटिङ गर्ने क्रममा २४ ओभरमा ९० रनमा अलआउट भयो।

प्रदेश १ का लगि अंकित सुवेदीले ६१ रनको योगदान गर्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा सुदूपश्चिमका शेर मल्लले ४ विकेट लिए भने नरेन्द्र साउदले ३ विकेट हात पारे। कैलाश ऐरीको नाममा २ विकेट रह्यो। 

९१ रनको लक्ष्य सुदूरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाएर पार गर्‍यो। सुदूपश्चिमका लागि अर्जुन साउदले नटआउट ३२ रन र बसन्त कार्कीले नटआउट ३७ रन जोडे।

त्यसअघि लोकेश बम ६ रन, दिपक टमाटा १० रन,  नरेश भट्ट ० र खडक बोहरा १ रनमा आउट भएका थिए। बलिङमा प्रदेश १ का अभिनय राजवंशीले २ विकेट लिए।

जारी प्रतियोगितामा सुदूपश्चिम ५ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ। शीर्ष स्थानको लुम्बिनीको ६ खेलबाट १० अंक छ।

तेस्रो स्थानको प्रदेश १ ले ५ खेलबाट ६ अंक जोडेको छ। चौथो स्थानको बागमति, पाँचौको प्रदेश २ र छैटौं स्थानको गण्डकीको ४-४ अंक छ। पुछारको कर्णालीले २ अंक मात्र जोड्न सकेको छ।

Copy link
Powered by Social Snap