२०८१ बैशाख ८

२१ सांसदको समर्थनमा कर्णालीको मुख्यमन्त्री बनेका शाहीले २२ सांसदबाट पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्।

बुधबार कर्णाली प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।

कात्तिक १६ गते मुख्यमन्त्री बन्दा २१ जना मात्र सांसदको समर्थन पाएको मुख्यमन्त्री शाहीले विश्वासको मत भने २२ जना सांसदको पाएका छन्। त्यसबेला उनी नेकपा माओवादीका १२, कांग्रेसका ६ जना र एकीकृत समाजवादीका ३ जना गरी २१ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।


Advertisement


मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि तोकिएको बुधबारको बैठकमा राप्रपाले पनि समर्थन गरेपछि २२ जनाबाट उनले विश्वासको मत पाएका हुन्।

कर्णाली प्रदेश सभामा राप्रपाका एकमात्र सांसद सोशिला शाहीले मुख्यमन्त्री शाहीलाई समर्थन गरेकी हुन्।

गत वैशाख ३ गते यसअघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा उनी तटस्थ बसेकी थिइन्। नेकपा एमाले संसदीय दलले समर्थन फिर्ता लिएपछि पूर्वमुख्यमन्त्री शाही अल्पमतमा परेका थिए।

सो समयमा सोशिला शाहीले उनलाई समर्थन गरेकी थिइनन्। त्यसबेला तत्कालीन समय एमालेमा रहेका (अहिले समाजवादीमा आबद्ध) चार जना तत्कालीन सांसदहरूले फ्लोर क्रस गरेपछि महेन्द्र शाही मुख्यमन्त्रीमा टिकेका थिए।

त्यसबेला ओलोपालो सरकार सञ्चालन गर्ने सम्झौतामा कांग्रेसले माओवादीका महेन्द्र शाहीलाई समर्थन गरेको थियो। सोही सम्झौता अनुसार जीवनबहादुर शाही कात्तिक १६ गते कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री नियुक्त भएका हुन्।

मुख्यमन्त्री शाहीले आज ३० औं दिनमा विश्वासको मत लिएका छन्।

उनले मंगलबार नै विश्वासको मत लिने भनिए पनि प्रमुख प्रतिपक्षी दललाई पर्खिएर मंगलबारको बैठक कार्यसूची प्रवेश गरी स्थगित गरिएको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बुधबारको प्रदेश सभा बैठकमा पनि सहभागी भएन।

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन संसदीय दलका नेतासहित सांसदहरू चितवन गएकाले उनीहरू सहभागी नभएका हुन्।

एमाले सांसद दल रावलले आफूहरू आज चितवनबाट फर्किन लागेको भए पनि बैठक समयमा पुग्न नसकेकोले सहभागी नभएको बताए।

नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलका सचेतक हिमबहादुर शाहीले संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिनैपर्ने भएकाले प्रमुख प्रतिपक्षी दलको सहभागिताबिना मत लिइएको बताए।

प्रतिपक्षी दलको सौहार्दपूर्ण सहभागितामा विश्वासको मत लिने योजना बनाए पनि एमालेको आन्तरिक महाधिवेशनले यो योजनामा प्रभाव पारेको उनले बताए।

मुख्यमन्त्री शाहीले अब आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिनेछन्।

यसअघि उनले दुई जना मन्त्री नियुक्त गरेका छन्। कृषि मन्त्रीमा समाजवादीका संसदीय दल नेता चन्द्रबहादुर शाही र अर्थमन्त्रीमा माओवादी सांसद विन्दमान विष्टलाई उनले नियुक्त गरेका छन्।

आठ सदस्यीय कर्णाली प्रदेशको मन्त्रिपरिषदमा अब ५ जना मन्त्री नियुक्त गर्न बाँकी छ।

Copy link
Powered by Social Snap