२०८१ बैशाख १४

लिङ्देनले युवा र उमेरको कुरा गर्ने भए टुँडिखेलमा दौडिऔं, हारेँ भने अध्यक्षको उम्मेदवारी छोड्छु : कमल थापा

एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै राप्रपा अध्यक्ष कमल थापाले पद नछोड्ने मानसिकता आफूमा नरहेको भन्दै केही अधुरा काम पूरा गर्न आफूलाई छोडिदिन अनुरोध गरेका छन्। 

उनले अहिले नयाँ पुस्ताले युवा र उमेरको कुरा गरेको भन्दै ‘टुँडिखेलमा गएर दौडिन’ अनुरोध गरे। 

‘म कुन पुस्ताको हुँ म आफैंलाई थाहा छैन, नयाँ पुस्ताका साथीहरूलाई भन्छु, अब पुस्तै भनेर युवा र उमेरको कुरा गर्ने हो भने टुँडिखेलमा गएर दौडौं,’ थापाले भने। 


Advertisement


उनले यदि टुँडिखेलमा दौडिँदा आफूले हारे अध्यक्षको उम्मेदवारी छोड्ने बताए। 

थापाले आफू तीन पटक केन्द्रीय सदस्य र तीन पटक अध्यक्षमा निर्वाचित हुँदा कहिल्यै पनि भोट माग्नु नपरेको बताएका छन्। 

सोमबार अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै थापाले राष्ट्रिय सभागृहमा भने, ‘म भावुक महसुस गरिरहेको छु। मैले राष्ट्रिय प्रजातन्त्र पार्टी २०४७ मा स्थापना भएयता तीन पटक केन्द्रीय सदस्य र तीन पटक पार्टीको अध्यक्ष भएर काम गर्ने मौका पाएँ, यी छ पटक कहिले पनि उम्मेदवारी घोषणा गरिनँ। छ पटक नै भोट पनि मागिनँ।’ 

उनले अहिले उम्मेदवारी घोषणा गर्नु परिस्थितिजन्य बाध्यता रहेको बताए।  

‘म भावुक पनि यसकारण भइरउहेको छु कि ३० वर्षको लामो राजनीतिक आरोह अवरोहमा साथीहरूबाट निरन्तर र अविचलित रूपमा अत्यन्तै न्यानो माया ममता सद्भाव र समर्थ प्राप्त गरेको छु,’ उनले भने। 

आफ्ना अग्रजलाई गाली गरेर असफल गरेर त्यो नेतृत्व लिन सम्भव नहुने पनि थापाले बताए। ‘कमल थापा, पशुपतिशमशेर, डा. लोहनी असफल भए भन्ने मान्यता स्वीकार्य हुँदैन,’ थापाले भने, ‘जसले यो पार्टीलाई रगत पसिना दिए, ती नेतालाई असफल भए भन्न मिल्दैन। एक दुई पटक चुनाव जित्दैमा लोकप्रिय भइँदैन।’

उनले मंसिर १५ गतेदेखि हुने ऐतिहासिक एकता महाधिवेशनबाट पार्टी फुट्ने र टुट्ने तीतो अनुभवको शृंखला नदोहोरिने बताए। 

‘म सम्पूर्ण प्रतिनिधि साथीहरू सबैमा यो महाधिवेशनबाट फर्केर घर जाँदा राप्रपालाई कहिल्यै फुट्न नदिने संकल्प गर्नुपर्छ,’ उनले भने, ‘यो एकतालाई कायम राख्ने सन्दर्भमा खुसी र गौरबको अनुभूति हुन्छ। विशिष्ट नेताहरूले हामीलाई शुभेच्छा दिनुभएको छ।’ 

उनले पहिलो पंङ्तिमा संस्थापक अध्यक्ष पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफूलाई प्रेरणा र प्रोत्साहन दिएको सम्झिए। 

‘म हिजो उहाँसँग आशीर्वाद माग्न गएको थिएँ। पार्टीको एकता कायम राख्ने काममा लाग्न निरन्तर लाग्न मलाई अभिप्रेरित गर्नुभएको छ,’ उनले भने। 

उनले कहिल्यै पार्टी नफुट्ने संकल्पका साथ उम्मेदवारी घोषणा गरेको पनि बताए।

Copy link
Powered by Social Snap