२०८१ बैशाख १३

अफ्रिकी मुलुकबाट नेपाल प्रवेशमा कडाइ गर्ने गृह मन्त्रालयको निर्णय

गृह मन्त्रालयले अफ्रिकी मुलुकबाट नेपाल प्रवेशलाई कडाइ गर्ने निर्णय गरेको छ।  आइतबार गृह सचिव टेकनारायण पाण्डेको नेतृत्वमा बसेको बैठकले अफ्रिकी मुलुकको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। 


Advertisement


गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकबाट आउनेलाई अनअराइभल भिसा नदिने निर्णय भएको बताए। 

तर, डिप्लोमेटिक पासपोर्ट भएकालाई भने नफर्काइने पोखरेलले बताए।

यस्तै, आइसकेका नेपाली नागरिकलाई पनि फर्काइने छैन। उनीहरू सबैलाई होटल क्यारेन्टाइनमा पठाइनेछ। 

कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन अफ्रिकाबाट फैलँदै भारतसँग आइपुगेपछि गृहले यस्तो निर्णय गरेको हो। 

ओमिक्रोन कोरोनाको पुरानो भेरियन्टभन्दा पाँच गुणा बढी शक्तिशाली मानिएको छ। अफ्रिकाबाट युरोप, इजरायल, हङहङसम्म ओमिक्रोन पुगिसकेको छ। 

नयाँ भेरियन्टको रोकथाम तथा नियन्त्रणका लागि सोमबार कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्दैछ। 

अध्यागमन विभागका अनुसार गृहले गरेको मौखिक निर्णयका आधारमा आवश्यक काम सुरू गरिएको छ। तर, सिसिएमसी बैठक बसेपछि मात्रै यससम्बन्धी निर्णयलाई अन्तिम रूप दिइनेछ। 

‘अहिले हामीले तत्कालै गर्ने काम गरेका छौं, सिसिएमसीको निर्णय के आउँछ त्यस आधारमा थप गृहकार्य गरिन्छ,’ विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने।

विशेष गरी दक्षिण अफ्रिकी मुलुकबाट हुने प्रवेशमा कडाइ थालिएको उनले बताए।

Copy link
Powered by Social Snap