२०८१ बैशाख १५

मजाले प्रधानमन्त्री, मन्त्री बनेर सरकार चलाउन पाइया छ अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैलाई गठबन्धन चाहिने बताएका छन्।


Advertisement


बुधबार बिहान धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले महाधिवेशनमा धेरै भोट पाउन कसैले गठबन्धन बलियो बनाएर जाने भनेका छन् भने कसैले बिरोध गरेको बताए।

‘यो गठबन्धनले मजाले प्रधानमन्त्री, मन्त्री बन्न पाइया छ, सरकार चलाउन पाइया छ, अनि गठबन्धन टिक्दैन भन्ने  हुन्छ र! यो त मिल्ने कुरै होइन नि,’ उनले भने।

मानिसहरूले गठबन्ध चल्दैन, टिक्दैन कि भनेर आशंका गर्ने या भ्रम फैलाउने स्थितिको अन्त्य भइसकेको प्रचण्डको भनाइ छ।

पाँच दलीय समन्यव समिति भनेर उच्चस्तरको संयन्त्र बनाएपछि र चुनाव मिलेर लड्छौं भन्ने निर्णय भएपछि तत्काल देशमा अस्थिरता नआउने उनले बताए।

सरकार स्थिर रहनु सबैका लागि खुसीको कुरा भएको उनले बताए।

‘पाँच दलीय समन्वय समिति भनेर उच्चस्तरमा संयन्त्र बनाएका छौं। त्यो पार्टीहरू बीचको संयन्त्र हो। सरकारलाई निर्देशन गर्ने, सरकारभन्दा माथि होइन,’ प्रचण्डले भने।

संसारमा जहाँ पनि संयुक्त सरकार हुने ठाउँमा पार्टीहरूले एउटा न एउटा संयन्त्र आपसी समझदारी सुदृढ गर्नका लागि बनाउने गरेको प्रचण्डले बताए।

‘सरकार आफ्नो ढंगले चल्छ भने पार्टीहरूले आपसी समझदारी, सहमति, अन्तरक्रिया र आउने इस्युमा समान धारणा बनाउन यस्तो संयन्त्र बनाएको अभ्यास छ,’ उनले भने।

संयन्त्रले गठबन्धनलाई आउने चुनावसम्म लैजाने बाटो प्रस्ट भएको उनको भनाइ छ।

तत्कालै राष्ट्रिय सभामा खाली हुने १९ सिटमा गठबन्धनका दलहरू मिलेर चुनाव लड्ने नीतिगत र व्यवहारिक निर्णय नै गरिसकिएको उनले जानकारी दिए।

त्यस्तै प्रतिनिधि वा प्रदेश सभाको उपचुनाव हुने भएमा पनि मिलेर जाने उनले बताए।

‘यो चुनावको परिस्थित हेरिसकेपछि आउने सबै चुनावमा समझदारी बनाएर जाने हो,’ उनले भने।

Copy link
Powered by Social Snap