२०८० चैत्र १६

रोहित र राहुलको कीर्तिमानमा न्युजिल्यान्डविरूद्ध भारतको सिरिज जित

न्युजिल्यान्डलाई दोस्रो खेलमा ७ विकेटले हराउँदै भारतले पाहुना टोलि न्युजिल्यान्डविरूद्ध तीन टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज एक खेल अगावै जितेको छ।

भारतको राँचीस्थित जेएससीए अन्तर्राष्ट्रिय स्टेडियममा शुक्रवार सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको १५४ रनको लक्ष्य भारतले १७.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेटायो। लगातार दोस्रो जितसँगै भारतले शृंखला आफ्नो पक्षमा पारेको हो। यसअघि पहिलो खेल पनि भारतले जितेको थियो।


Advertisement


भारतको लागि दुबै ओपनर केएल राहुल र रोहित शर्माले अर्धसतकीय पारी खेले। राहुलले सर्वाधिक ६५ रन बनाने क्रममा ४९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर तथा कप्तान शर्माले ३६ बलमा १ चौका र ५ छक्कासहित ५५ रन जोडे।

राहुल र रोहितले पहिलो विकेटको लागि ११७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

यो सँगै रोहित शर्मा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतकीय साझेदारीमा सहभागी हुने ब्याट्सम्यान बनेका छन्। बाबर आजम र मार्टिन गुप्टिलको (१२ पटक) रेकर्ड तोड्दै रोहितले १३ औं पटक शतकीय साझेदारी गरेका हुन्।

यस्तै केएल राहुल र रोहित शर्माको जोडी संयुक्त रुपमा टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ पटक शतकीय साझेदारी गर्ने ब्याट्सम्यान पनि बनेका छन्। पाकिस्तानका बाबर आजम र मोहम्मद रिजवानले पनि ५ पटकनै शतकीय साझेदारी गरेका छन्। 
भेन्कटेस ऐयर र रिशभ पन्तले भारतलाई सहज जित दिलाए। ऐयर र पन्त दुवैले अविजित समान १२-१२ रन बनाए।
न्युजिल्यान्डका लागि कप्तान टिम साउदीले ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

उसको लागि ग्लेन फिलिप्सले सर्वाधिक ३४, मार्टिन गुप्टिल र डेरेल मिचेलले समान ३१-३१ रन तथा मार्क च्यापम्यानले २१ रन जोडेका थिए।

१५ ओभरमा १२५/३ को अवस्थामा रहेको न्युजिल्यान्डले अन्तिम ५ ओभरमा २ विकेट गुमाएर २८ रन मात्र जोड्न सक्यो। 

भारतका लागि डेब्यू खेल खेलेका तीव्र गतिका बलर हर्षल पटेलले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार, दिपक चाहर, अक्षर पटेल र रभीचन्द्रन आश्विनले समान एक-एक विकेट लिए।

तीन खेलको सिरिज अन्तर्गत पहिलो खेलमा भारतले न्यूजिल्याण्डलाई ५ विकेटले हराएको थियो। अब तेस्रो तथा अन्तिम खेल आगामी आइतबार कोलकातामा हुनेछ।

Copy link
Powered by Social Snap