२०८१ बैशाख १४

स्टर्लिङ र गेलको विस्फोटक ब्याटिङले टी-१० लिगमा अबुधाबीको विजयी सुरूआत

पल स्टरलिङ र क्रिस गेलको विस्फोटक ब्याटिङमा युएईमा शुक्रबारबाट सुरू भएको टी-टेन लिगमा टिम आबुधाबीले विजयी सुरुवात गरेको छ।

शेखजायद रंगशालामा आबुधाबीमा भएको खेलमा बंग्ला टाइगर्सलाई ४० रनले हराउँदै विजयी सुरूआत गरेको हो।


Advertisement


टिम आबुधाबीले दिएको १४६ रनको लक्ष्य पछ्याएको टाइगर्सले १० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो। टाइगर्सको लागि आन्द्रे फ्लेचरले ८ बलमा २४, हज्रतुल्लाह जजाईले ११ बलमा १८ रन बनाए। बेनी होवेल र इसुरु उडानाले समान १५-१५ रन जोडे। बाँकी खेलाडीले दोहोरो रन जोड्न सकेनन्।

टिम अबुधाबीका दायाँ हाते पेसर मर्चान्ट डी लांगेले सर्वाधिक ५ विकेट लिए। २ ओभरमा २३ रन खर्चिएका दक्षिण अफ्रिकी बलर लांगे प्रभिन ताम्बेपछि टी-१० फर्म्याटमा एकै इनिंग्समा ५ विकेट लिने दोस्रो बलर बने। कप्तान लियाम लिभिंगस्टोन, जेमी ओभरटन र ड्यानि ब्रिग्सले समान एक-एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टिम आबुधाबीले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। उसको लागि ओपनर पल स्टरलिंगले सर्वाधिक ५९ रन तथा क्रिस गेलले अविजित ४९ रन बनाए। 

स्टरलिंगले २३ बलमा ६ चौका र ५ छक्का तथा गेलले २३ बलमा २ चौका र ५ छक्का प्रहार गरेका थिए। स्टरलिङ र गेलले तेस्रो विकेटको लागि २४ बलमा ९७ रनको साझेदारी गरेका थिए। 

लियाम लिभिंगस्टोनले १४ रन बनाउँदा इंङ्ल्याण्डका फिल्ट साल्टले ७ रन जोडे। 

बांग्ला टाइगर्सका लागि जेम्स फल्कनर, इसुरू उडाना र बेनी होवेलले समान एक-एक विकेट लिए।

लिग अन्तर्गत शुक्रबारनै सम्पन्न अर्को पहिलो खेलमा दिल्ली बुल्सले नर्दर्न वारियर्सलाई ६ विकेटले हरायो। वारियर्सले दिएको १०८ रनको लक्ष्य बुल्सले ९ ओभरमा ४ विकेट गुमाएर भेटायो।

दिल्ली बुल्सको लागि मोहम्मद हफिजले सर्वाधिक ३१ रन बनाउँदा, रहमनुल्लाह गुर्बजले ३० रन तथा शर्फेन रुदरफोर्डले २९ रन बनाए।

टस हारेर त्यसअघि ब्याटिङ गरेको नर्दर्न वारियर्सले १० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो। उसको लागि कप्तान रोभम्यान पावेलले १९ बलमा ३ चौका र २ छक्का मद्दतले ३८ तथा मोईन अलिले २१ बलमा २ चौका र २ छक्का मद्दतले ३५ रन बनाए। बुल्सका शिराज अहमद ,रभी रामपौल, रोमारियो सेफर्ड र ड्वेन ब्राभोले समान एक-एक विकेट लिए।
 

Copy link
Powered by Social Snap