२०८२ मंसिर २९

ला लिगा : बिल्बाओको प्रतिस्पर्धात्मक जित

एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा बिल्बाओले भिल्लारियललाई २–१ गोलले हरायो।


Advertisement


बिल्बाओलाई जिताउन राउल गार्सिया र इकर मुनियनले गोल गरे। भिल्लारियलका फ्रान्सिस कोक्वेलिनको गोल सान्त्वना बनेको थियो।
 प्रतिस्पर्धात्मक खेलमा राउलले १४औं मिनेटमा गोल गरे। उनले इनाकी विलियम्सको पासमा गोल गरेका थिए। त्यसपछि ३२औं मिनेटमा कोक्वेलिनले अर्नउट डान्जुमाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो। दोस्रो हाफमा बिल्बाओले सानदार प्रदर्शन गरेको थियो।

७७औं मिनेटमा मुनियनले पेनाल्टी गोल गर्दै बिल्बाओलाई महत्वपूर्ण जित दिलाए। भिल्लारियलका अल्बर्टो मोरेनोले फल खेलेपछि रेफ्रीले भिएआरको सहायतामा बिल्बाओलाई पेनाल्टीको अवसर दिएका थिए। बिल्बाओले ८२औं मिनेटमा अर्को पेनाल्टी पाएको थियो। तर एलेक्स बेरेनग्वेरको पेनाल्टी प्रहारलाई भिल्लारियलका गोलरक्षक जेरोनिमो रुल्लीले बचाए।

जितसँगै बिल्बाओ सातौं स्थानमा छ। नौ खेलमा चार जित, चार बराबर र एक हार खेपेको बिल्बाओको १६ अंक छ । पराजित भिल्लारियल ११ अंक सहित १३औं स्थानमा छ।

शनिबार रातिनै भएको अन्य खेलमा इल्चे र स्पान्योल तथा भ्यालेन्सिया र मालोर्काले समान २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अर्को खेलमा रेलिगेसनको दबाबमा रहेको डिर्पोटिभो अलाभेसले काडिजलाई २–० गोलले पराजित गरेको छ।

ला लिगा अन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात् बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार (आज) हुँदैछ।

‘एल क्लासिको’ बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार साँझ ८ बजे हुनेछ।

Copy link