२०८१ बैशाख १३

चुनाव जित्ने नेताको समर्थनले होइन भोटले हो, एसपालिको नेतृत्व महिलाकै हुन्छ- रविना थापा

आगामी गैर आवासीय नेपाली संघको नेतृत्वको लागि दाबी गरेकी वर्तमान उपाध्यक्ष रविना थापाले  चुनाव जित्न नेताको समर्थन नभएर एनआरएनको भोट आवश्यक हुने स्पष्ट पारिन्।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी रविना थापाले आफ्नो उम्मेदवारीको औचित्त्य  प्रस्ट्याउँदै कुराकानीमा परराष्ट्रमा परेको उजुरीले  एनआरएन भित्र हुने राजनीतिक चलखेल र दाउपेच छताछुल्ल भएको बताइन्।  


Advertisement


‘समयमा नै चुनाव नहुने भइगयो। परराष्ट्रमा परेको उजुरीले  एनआरएन भित्र हुने राजनैतिक चलखेल र दाउपेच  छताछुल्ल भएको छ।  अन्य उमेद्वारहरू नेताको दैलो ढुक्ने अनि आफ्ना पक्षमा नेताहरुको समर्थन जुटाउन हिँडेका छन्, पार्टीबाटै आधिकारिक उमेद्वार घोषणासमेत गराएका छन्’, उनले भनिन्, ‘जता जता नेता मिडिया पनि उतै लागेका छन्। त्यसैले मेरो सक्रियता कम देखिएको हो। तर चुनाव जित्ने नेताको समर्थनले होइन, गैर आवासीय नेपालीहरुको भोटले हो। म अधिवेशन प्रतिनिधिको सम्पर्कमा छु, उहाँहरूको समर्थन मलाई छ। मेरा एजेन्डा समसामयिक छन्, मैले कुरा उठाउने मात्र होइन त्यसलाई पुरा गरेर छोड्ने मेरो बानी छ।’

सामाजिक क्षेत्रमा निकै सक्रिय हुने थापा नेपालमा रहँदा पनि सामाजिक काममा सक्रिय छन्। एनआरएन पनि गैर राजनीतिक, गैर नाफामुलक सामाजिक संस्था भएकाले आफू यसको उद्धेश्य अनुरूपनै काम गर्ने बताइन्।

‘तपाईँसँगको कुराकानी लगत्तै म पोखरा जादैछु। मैले  गैरआवासीय नेपाली दिवसको अवसर पारेर महिला तथा युवा विभागको संयोजकत्वमा र स्थानीय तहमा पोखरामा पाठेघर सम्बन्धी स्वास्थ्य शिविर र यसै शिविरमा स्तन क्यान्सर सम्बन्धि परीक्षण गर्ने कार्यक्रमको आयोजना गरेको छु। मलाइ यस्तै यस्तै सामाजिक सेवाका काम गर्न मन पर्छ र त एनआरएनमा छु’, उनले भनिन्।
उनले एनआरएनमा छिरेको राजनीति चर्नकै लागि आफूले उम्मेद्वारीदिएको बताइन्। 

गैरराजनीतिक संस्थामा राजनीति भित्र्याउने काम भएकाले त्यसलाई रोक्न र सामाजिक तथा सेवामुलक संस्था बचाउन यसपटक महिला अगाडि बढ्नैपर्छ भनेर आफूले नेतृत्वको दाबी गरेको उनले बताइन्।

‘हुन त म पनि डेमोक्र्याटिक मानिस हुँ, राजनीति मलाई पनि थाहा छ। तर एनआरएनमा गरिएको पार्टीगत गुटबन्दी र राजनीतिको म कट्टर बिरोधी हुँ। सुरूवातदेखिनै मैले बिरोध गर्दै आएको छु। विगतका नेतृत्वले व्यक्तिगत फाइदा र व्यापारिक स्वार्थको लागि एनआरएनमा राजनीति भित्र्याएर त्यसैको विकृत परकास्ठा अहिले देखिएको हो।  यसैलाई चिर्न मेरो उमेद्वारी हो’, उनले भनिन्, ‘सत्य र तथ्यबीचको फरक छुट्याउन हामी सबै सक्षम थियौं ता पनि यसमा प्रत्यक्ष  राजनीतिक हस्तक्षेप निम्त्याउने काम  भएको छ। असमझधारी बीच हामीले कतीपय विवादमा तार्किक  सहमति गरेका छौ।’

संस्थामा राजनीति भित्र्याउने काम पुरूषले गर्दै आएको भन्दै उनले अब पुरूषले गल्ती स्वीकार गर्दै  नेतृत्वबाट हट्नुपर्ने र यो सामाजिक तथा सेवामुलक संस्था बचाउन महिलालाई नेतृत्व दिनुपर्ने तर्क गरिन्।

‘देशमा आएको परिवर्तनसँगै यो देशले प्रथम महिला राष्ट्रपति, प्रथम महिला सभामुख, प्रथम महिला प्रधानन्यायाधीश, प्रथम महिला उद्योग वाणिज्य संघको सभापतिसमेत पाईसक्यो भने अब पालो  गैर आवासीय नेपाली संघको हो र म पुरा तयारीका साथ आएको छु,’ उनले भनिन्।

एनआरएनएमा परिवर्तनका लागि महिला नेतृत्वको आवश्यकता रहेको औल्याउँदै  उनले एनआरएनएको  नयाँ भविष्य निर्माण गर्दै सिर्जनशील बन्न महिला नेतृत्वबाट मात्र सम्भब  रहेको दाबी गरिन्। ‘यदि यस पटक महिला नेतृत्व नआए आउँदो बीस वर्षसम्म पनि एनआरएनमा महिला नेतृत्व नआउने र एनआरएको भविश्यनै संकटमा पर्नेछ’, उनले भनिन्।

महिला नेतृत्वको कुरा आफूले भाषण र गफमा मात्र सिमित नाराखी व्यवहारमा देखाउने बताइन्। ‘अब हुने अधिबेशनले मेरो नेतृत्वमा पहिलो महिला नेतृत्व पाउनेछ। जसले अहिले एनआरएनमा रहेको मुख्य विकृति हटाउन संघमा रहेका सबै सदस्यले केन्द्रको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्ने पहिलो निर्णय गर्नेछु’, उनले भनिन्।

‘भनिन्छ नि, एउटा  पुरुष  शिक्षित भयो भने ऊ आफू मात्रै शिक्षित हुन्छ। तर एउटी नारी शिक्षित भइन् भने  उनीसँगै एउटा सिङ्गो पुस्ता शिक्षित हुन्छ। त्यसैले एनआरएनएको  उज्ज्वल भविष्यका लागि महिला नेतृत्व आवश्यक देखिन्छ।’

बाहिरी देशमा जन्मिएका र हुर्किएका बच्चालाई नेपाली भाषा, संस्कृतिको राम्रो ज्ञान नभएको भन्दै आफूले नेतृत्व पाए उनीहरुलाई देशबारे जानकारी दिने, विदेशबाट एक जना नेपालीले सिकेर आएको सिपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सिपयुक्त बनाउने बताइन्।

सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको स्मरण गर्दै उनले त्यसलाई कार्यान्वयनमा ल्याउन दबाब दिने लगायतका काममा आफ्नो विशेष पहल रहने बताइन्।

‘ठूला ठूला अर्बौं कुरा गरेर एनआरएनमा आफ्नो नाम ब्रान्डिङ गर्दै जताततै मोलमोलाई गर्दै हिँड्ने नेतृत्वभन्दा थोरै थोरै पैसा सङ्कलन गरेर यहाँ ठूलो क्षेत्रमा लगानी गर्ने सम्भावना पहिल्याउने र  साना साना व्यवसायलाई सहयोग गर्ने भन्ने योजनासहित पूँजी सङ्कलन गर्ने योजना रहेको छ। मेरो कार्यकालको अन्तिमसम्म एनआरएनमा ३३ प्रतिशत युवा समावेस हुने प्रतिबद्धता समेत मेरो छ’, उनले भनिन्।

उनले आफू कुनै पनि हालतमा उम्मेद्वारी फिर्ता नलिने दोहोर्‍याउँदै जितेर देखाउने दाबी गरिन्।

‘लेखेरै राख्नुहोस् म उमेद्वारी फिर्ता गर्दिनँ। चाहे जतासुकै वा जोसुकैबाट दबाब आओस्, यसपटक एनआरएनले महिला नेतृत्व पायो पायो’, उनले भनिन्। 

अरू जस्तै उनीसँग पनि आफ्नो टिम छ। उनको टिमबाट उपाध्यक्षमा जयप्रकाश गुरूङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन्। अन्य उमेद्वारहरू पनि जोडिने क्रम जारि छ।

Copy link
Powered by Social Snap