२०८१ बैशाख १४

बंगलादेशबाट ‘पैंचो’मा ५० हजार मेट्रिक टन मल ल्याउँदैछौं: मन्त्री भूसाल

साभार: सेतोपाटी

सरकारले बंगलादेशबाट पचास हजार मेट्रिक टन रासायनिक मल पैंचो ल्याउने भएको छ।

मंगलबार प्रधानमन्त्री केपी ओली र बंगालादेशी प्रधानमन्त्री शेख हसिनाबीच तत्काल पचास हजार मेट्रिक टन रासायनिक मल ल्याउने सहमति भएको हो।

कृषि मन्त्री घनश्याम भूसालका अनुसार किसानलाई रासायनिक मलको चरम अभावलाई टार्न उक्त बराबरको मल पैंचो ल्याउने सहमति दुवै देशका प्रधानमन्त्रीबीच भएको हो।

मल समयमै नआएपछि कृषि मन्त्रालयले बंगलादेशसँग पैंचोका लागि केही समयदेखि नै अनुरोध गर्दै आएको थियो।

‘बंगलादेशबाट पिएमकै लेभलमा कुरा गरेपछि मात्र टुंगो लाग्न सक्ने भनेपछि मैले प्रधानमन्त्रीलाई मल पैंचो ल्याउने विषयमा जानकारी गराएको थिएँ,’ भूसालले भने, ‘उहाँले आज बंगलादेशी प्रधानमन्त्रीसँग कुरा गरेपछि यो टुंगो लागेको हो।’

भूसालले पन्ध्र दिनभित्रमा उक्त रासायनिक मल ल्याउने दुवै देशका प्रधानमन्त्रीबीच सहमति भएको पनि बताए।

सो मल पैंचोको रुपमा ल्याइने र आगामी वर्ष ग्लोबल टेण्डरमार्फत सरकारले खरिद गरेर बंगालादेशलाई ‘पैंचो तिर्ने’ सहमति भएको भूसालले बताए। ‘एक वर्षभित्र हैन, करिब ९ महिनाभित्रै पैंचो तिर्ने मेरो योजना छ,’ भूसालले भने।

भूसालका अनुसार अहिले कृषि सामग्री कम्पनी लिमिटेडसँग ३२ हजार मेट्रिक टन रासायनिक मल स्टक छ। सो मल वितरण भइसक्दा नसक्दै बंगलादेशको मल आउने उनले बताए। 


Advertisement


‘यो महिनासम्म ३२ हजार मेट्रिक टन मलले पुग्ला भन्ने हाम्रो आँकलन छ, त्यसपछि बंगलादेशबाट आएको मल वितरण हुन्छ,’ उनले भने।

भूसालका अनुसार यो मल वीरगन्ज नाकाबाट भित्र्याइने छ। ‘बंगलादेशबाट सिधै रेलमार्फत् वीरगन्ज झार्छौं,’ उनले भने।

यसबीचमा भारत र चीनबाट पनि मल ल्याउन भने खोजिएको तर नपाइएपछि बंगलादेशमा कुरा भएको भूसालले बताए। ‘भारत र चीनबाहेक पनि अर्को देशबाट सहयोग आदान-प्रदानको सुरुवात् भएको छ, पैंचो लिएर काम चलाउने एउटा राम्रो सुरुवात् भएको छ,’ भूसालले भने।

कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज होनिको मल्टिपल कम्पनीबाट पचास हजार मेट्रिक टन मल ल्याउन टेण्डर गरेको थियो।

शैलुङसँग वैशाख १२ गते र होनिकोसँग १५ गते ठेक्का सम्झौता भएको थियो।

सम्झौता भएपछि एलसी (प्रतितपत्र) खोलेको मितिदेखि लागू हुनेगरी उनीहरूलाई ११७ दिनको समय दिइएको थियो। परिस्थिति अनुसार केही समय अनुकूल गरिदिए पनि उनीहरूले मल ल्याउने सम्भावना भने छैन।

यी दुई कम्पनीले चीन र मध्यपूर्वका देशबाट युरिया ल्याउने भनेका थिए।

सबैभन्दा कम कबोल गरेपछि होनिकोसँग प्रतिटन ३०९. ९ अमेरिकी डलर र शैलुङसँग प्रतिटन ३२०.२५ अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो।

तर, वैशाख, जेठ त्यसै बित्यो। असार बित्यो, बिऊ रोप्ने बेला पनि किसानले मल पाएनन्, रोपो हुर्किंदा पनि पाएनन्। अहिले गोड्ने बेला पनि हाहाकार भयो- यिनै दुई कम्पनीका कारणले।

कलकत्ताबाटै नेपाल आइपुग्न पनि झन्डै तीन साता बढी लाग्ने हुनाले यी कम्पनीले मल ल्याए पनि मलको सिजन सकिन्छ। अहिले तत्काल धानमा रासायनिक मल चाहिएको छ। देशभरिका किसान मल नपाएर हैरान छन्।

यसो भएको हुनाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय यी दुई कम्पनी शैलुङ इन्टरप्राइजेल र होनिको मल्टिपललाई मल ल्याउने समय बढाउन हैन, कारबाही गर्न खोजिरहेको छ। समयमै युरिया मल आपूर्ति नगर्ने दुवै कम्पनीलाई कारबाही गर्ने तयारी मन्त्रालयको छ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार अहिले दुई कम्पनीले मल ल्याउन नसकेको अवस्थामा मल आयातका अरु दस वटा टेन्डर गरिएका छन्।

तिनीहरूले आवश्यक प्रक्रिया पूरा गरेर मल ल्याउन कम्तीमा पनि कात्तिक पहिलो साताको समय लाग्छ, तर त्यो पनि पानी जहाज चल्यो र कोभिड-१९ ले असहजता ल्याएन भने।

दुवैको मल ल्याउने समय भदौ २० गते सकिन्छ। तर, यिनीहरूले कलकत्तामा मल झार्न सकेका छैनन्, कहिले झार्ने भन्ने टुंगो पनि छैन।

शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीलाई मन्त्रालयले कारबाही गर्ने तयारी थाल्ने सचिव राजेन्द्रप्रसाद भारीले बताए। दुवैसँग ठेक्का रद्ध गरी धरौटी जफत गर्न सकिने उनले बताए।

‘दुवै कम्पनीले ११७ दिनको समयमा मल ल्याउन नसक्ने लगभग निश्चित भइसकेको छ, मन्त्रालय उनीहरूको बैंक धरौटी जफत गरी ठेक्का तोड्ने प्रक्रियामा जान्छ,’ भारीले भने। 

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार दुवै कम्पनीले एक बोरा पनि मल नेपाल ल्याएनन्। हाल देशभरि युरिया मलको अभाव हुनु पनि यी दुई कम्पनीकै कारण भएको भारीले बताए।

शैलुङ इन्टरप्राइजेज नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो भने होनिको हुमनाथ कोइरालाको। दुवै ठेक्कापट्टामा विवादित छविका ठेकेदार हुन्।

कृषि मन्त्री भूसालले यी दुवै कम्पनीलाई नियमबमोजिम यथोचित कारबाही हुने बताए।

Copy link
Powered by Social Snap