२०८१ बैशाख १४

कोरोनाका कारण काम नसकिएका ठेक्काको म्याद चैतसम्म थप

अर्थ मन्त्रालयले कोरोना महामारीका कारण काम नसकिएका ठेक्काको म्याद आगामी चैत मसान्तसम्म थप गरेको छ ।  कोरोना महामारीको पहिलो र दोस्रो लहर नियन्त्रण गर्न लगाइएको निषेध आदेश र बन्दाबन्दी जारी हुनुपूर्व या सो अवधिभित्र सम्झौता भएका तर महामारीका कारण सम्पन्न हुन नसकेका चालू अवस्थाका खरिद सम्झौताको म्याद थप गर्न अर्थले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई निर्देशन दिएको हो । 

चालू अवस्थामा रहेका खरिद सम्झौताको म्याद सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदाताको निवेदनका आधारमा थप हुने अर्थले जारी गरेको परिपत्रमा उल्लेख छ । बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले आवश्यकता र औचित्य विश्लेषण गरी त्यस्तो खरिद सम्झौताको म्याद बढीमा २०७८ चैत मसान्तसम्म थप्न सक्नेछन् । 


Advertisement


उल्लेखित मापदण्ड पालना गरी आवश्यक भएका सम्झौताको म्याद  थप निर्णय अबको एक महिनाभित्र गरी सोको जानकारी सम्बन्धित मन्त्रालय, सचिवालय, आयोगको सचिव वा विशिष्ठ श्रेणीको पदाधिकारीलाई दिन निर्देश गरिएको छ ।  

ती अधिकारीहरूले ठेक्का थप गर्ने निर्णय उपयुक्त भए/नभएको, उल्लेखित शर्तबमोजिम गरे/नगरेको, म्याद थप भएपछि समयमा काम सम्पन्न भए/नभएको, सम्झौता बमोजिमको काम भए/नभएको, काम सम्पन्न भएपछि समयभित्रै फरफारक गरे/नगरेको र काम सम्पन्न नभएका सम्झौताको सम्बन्धमा सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम समयमै कारबाही गरे/नगरेको हेर्नुपर्नेछ । साथै, कारबाही गरे/नगरेकोबारे नियमित अनुगमन गरी सो को प्रतिवेदन मासिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गर्न पनि अर्थले निर्देशन दिएको छ ।

यो निर्णय भदौ ३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेकाे हो । सो निर्णय कार्यान्वयन गराउन अर्थले आज सम्बन्धित निकायलाई निर्देशन दिएको हो

साभार: रातोपाटी

Copy link
Powered by Social Snap