२०८१ बैशाख २१

मुख्यमन्त्री भीम आचार्यकै नगर र वडाका एमाले नेताहरू एकीकृत समाजवादीमा

जसरी पनि बहुमत जुटाउने भन्दै प्रदेश १ को मुख्यमन्त्री बनेका भीम आचार्यलाई उनकै वडाका जनप्रतिनिधि र नगरका नेताहरूले साथ छाडेका छन्। 

एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेपछि संसदमा अल्पमतमा परेका आचार्यलाई गृहनगर इनरुवामा पनि धक्का लागेको छ। 

लामो समयदेखि उनलाई साथ दिँदै आएका इनरुवा–६ का वडाध्यक्षसहितका केही जनप्रतिनिधि र एमाले कार्यकर्ताहरू एकीकृत समाजवादीमा खुलेपछि वडामै आचार्य एक्लिएका हुन्। 


Advertisement


शनिबार नेकपा एकीकृत समाजवादीले इनरुवामा नगरस्तरीय भेलाको आयोजना गरेको थियो। जहाँ आचार्यका लामो समयदेखिका विश्वासपात्रहरू उपस्थित रहेर आफूहरू एकीकृत समाजवादीमा रहने घोषणा नै गरे। 

इनरुवा ६ का वडाध्यक्ष कोषराज अधिकारी आचार्यको साथ छाडेर एकीकृत समाजवादीमा लागेका छन्। आचार्यका छिमेकीसमेत रहेका अधिकारीले आइतबार एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने जानकारी दिएका छन्।  

भीम आचार्यका पुराना सहयोगी समेत रहेका तीर्थ अधिकारी पनि समाजवादीमा लागेका छन्।

उनी तत्कालीन नेकपा, जेठ २ अघिको एमाले र पछिल्लो समय आचार्यकै अगुवाइमा गठित एमाले समानान्तर कमिटीको नगर अध्यक्ष हुन्। शनिबारको कार्यक्रम उनकै नेतृत्वमा भएको हो। 

आचार्यसँग साँध जोडिएका छिमेकी एवम् जनप्रतिनिधि राजेश दाहाल पनि समाजवादीको पक्षमा खुलेका छन्। उनले पनि आइतबार सनाखत गर्ने जनाएका छन्। 

आफ्नै वडाका अध्यक्षहरूले साथ छाडेपछि आचार्यको भूमिका शंकास्पद देखिएको एमाले ओली पक्षका नेताहरूले जनाएका छन्।

‘यतिका ठूला नेताहरूले आफ्नै वडाका, नगरका कार्यकर्ता आफ्नो साथमा ल्याउन–राख्न नसक्दा शंका स्वाभाविक हुन्छ’, एमाले सुनसरीका एक जना अध्यक्ष रेवतीरमण भण्डारीले भने, ‘यसले पार्टी वृत्तमा शंका जन्माएको छ।’

 सुनसरीमा अहिले जेठ २ लागु नभएको भन्दै एमालेमा विवाद तीव्र छ।

Copy link
Powered by Social Snap