२०८१ बैशाख २४

माधव नेपालले ‘जबज’ माने एकीकृत समाजवादीमा जान बामदेव तयार

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने विषयमा छलफल अगाडि बढाएका छन्।


Advertisement


तर, त्यसका लागि गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त अंगिकार गर्नुपर्ने ‘सर्त’ राखेका छन्।

शुक्रबार गौतमले केपी ओली नेतृत्वको नेकपा एमालेको आवद्धता त्यागेको घोषणा गरेका छन्।

उनीनिकट स्रोतका अनुसार नेपालले जबज अंगाले गौतमले तुरुन्तै समाजवादी पार्टीमा प्रवेश गर्ने योजना बनाएका छन्।

‘उहाँले पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असहमति जनाएर राजीनामा दिनुभएको हो, पार्टी एकतावद्ध गराउने सन्दर्भमा ओली चुकेको र सच्याउन खोज्दा नसकिएको हुनाले उहाँले एमाले त्याग्नुभएको हो,’ गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले भने।

पार्टी त्याग्दैगर्दा गौतमले एकीकृत समाजवादीले विधानमा मार्गदर्शक सिद्धान्त ‘जबज’ भए तुरुन्तै प्रवेश गर्ने बताएको सुवेदीले जानकारी दिए।

‘मौखिक रुपमा माधव नेपालसँग कुराकानी गर्दा उहाँले पार्टीको मार्गदर्शक सिद्धान्त जबज बनाउँछु भनी प्रतिवद्धता जनाउनुभएको छ,’ सुवेदीले भने, ‘तर, निर्वाचन आयोगमा मार्गदर्शक सिद्धान्त जबज बनाउने निर्णय गरेपछि मात्रै उहाँ समाजवादीमा जानुहुन्छ।’

निर्वाचन आयोगमा जबजलाई अद्यावधिक गरे नेपालको समाजवादीमा जान गौतम शतप्रतिशत तयार रहेको सुवेदीले बताए।

This image has an empty alt attribute; its file name is 20210524_140214.gif

राजीनामामा के लेखे गौतमले?

गौतमले एमाले पार्टीबाट लेखेको राजीनामा पत्रमा ओलीले संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना नगरेको उल्लेख छ।

जनादेशलाई लत्याउँदै दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेको आरोप समेत गौतमले ओलीलाई लगाएका छन्।

‘पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिएँ। तपाईंको कार्यशैली जनमुखी बनाउन धेरैपटक व्यक्तिगत रुपमा सुझाव पनि दिएँ। तर, तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छारी बन्दै जानुभयो,’ गौतमले राजीनामा पत्रमा भनेका छन्, ‘आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अबलम्बन गर्नुभएको गलत नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्काशनसम्म गर्नेजस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अंगाल्नुभयो। त्यति मात्र होइन, तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो।’

गौतम अहिले राष्ट्रिय सभामा स्वतन्त्र सांसद छन्।

गत भदौमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको थियो।

२०७४ को निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए। एमाले परित्याग गरेसँगै गौतमको राष्ट्रिय सभा सदस्यको पद के हुने भन्ने अन्योल छ।

Copy link
Powered by Social Snap