२०८१ जेष्ठ ३

रोनाल्डोले म्यानचेस्टरमा ७ नम्बरको जर्सी लगाउने

क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रिमियर लिग सिजन २०२१-२२ मा ७ नम्बरको जर्सी लगाउने म्यानचेस्टर युनाइटेडले पुष्टि गरेको छ। 

युनाइटेडमा यसअघि ७ नम्बरको जर्सी इडिन्सन काभानीले लगाउने गर्थे। काभानीले अब २१ नम्बरको जर्सी लगाउनेछन्। 

काभानीले राष्ट्रिय टिममा पनि २१ नम्बरकै जर्सी लगाउने गर्छन्। 


Advertisement


यसअघि रोनाल्डो इटालियन क्लब युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेमा २ वर्षका लागि आबद्ध भएका थिए।

पाँच पटकका बालन डि’ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन्। उनी सन् २००९ मा युनाइटेडबाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका थिए। 

उनले युनाइटेडका लागि २९२ खेल खेल्दै ११८ गोल गरेका थिए।

उनी तीन वर्षअघि युभेन्ट्समा आबद्ध भएका थिए। रियलबाट उनी ९९.२ मिलियन पाउन्डमा युभेन्ट्समा आबद्ध भएका थिए। 

त्यतिबेला उनले चार वर्षका लागि सम्झौता गरेका थिए। 

युभेन्ट्समा सन् २०१८ देखि ९८ खेल खेल्दा ८१ गोल गरेका थिए। तीन सिजनमा उनले दुई पटक इटालियन सिरि ए जिते। 

रियल म्याड्रिडमा रोनाल्डोले ९ सिजन बिताएका थिए। त्यस क्रममा उनले रियललाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।

रोनाल्डोले रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए। रियलका लागि उनले च्याम्पियन्स लिगमा १ सय ५ गोल गरेर कीर्तिमान बनाएका थिए। ला लिगमा भने उनले ३ सय ११ गोल गरे। रियलका लागि उनले १६ उपाधि जिते। जसमा २ ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि समावेश छन्। 

उनले रियलका लागि ४४ ह्याट्रिक गरे भने ला लिगामा ३४ ह्याट्रिक गरेका थिए। उनले सन् २०१४–१५ सिजनमा रियलका लागि ४८ खेल खेल्दै ६१ गोल गरेका थिए।

रियलमा सन् २००९ मा आबद्ध हुनुअघि उनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए।

उनले करिअरको सुरुवात पोर्चुगिज क्लब स्पोर्टिङबाट सन् २००२ मा गरेका थिए।

रोनाल्डोले करिअरमा पाँच पटक युरोपियन च्याम्पियन्स लिग जितेका छन्। उनले युनाइटेडबाट २००८ मा च्याम्पियन्स लिग जित्दा रियलबाट २०१४, २०१६, २०१७ र २०१८ मा ट्रफी उचालेका थिए। 

यस्तै उनले मुख्य लिगको उपाधि सात पटक उचालेका छन्। जसमा युनाइटेडबाट तीन पटक, रियलबाट दुई पटक र युभेन्ट्सबाट दुई पटक लिगको उपाधि जितेका छन्। 

उनले चार क्लब र देशका लागि गरी कुल ३२ उपाधि जितेका छन्। 

उनी युरोपियन च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन्। उनले १७६ खेलमा १३४ गोल गरिसकेका छन्। 

Copy link
Powered by Social Snap