२०८१ बैशाख १४

उपत्यकामा विद्यालय खोल्न प्रशासन लचिलो

१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका प्रशासन कार्यालय विद्यालय खुलाउन लचिलो बनेका छन् ।

प्रशासनले जारी गरेको आदेशमा स्थानीय तहले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था राखिएको छ ।


Advertisement


काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर विद्यालय सञ्चालन गर्नुपर्ने भए ‘स्मार्ट लकडाउन’ को प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमसी) सँग समन्वय गर्नुपर्ने छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गरिसकेको छ ।

प्रजिअ पराजुलीका अनुसार बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने गरी अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा, महोत्सव, आदिमा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।

के हो ‘स्मार्ट लकडाउन’ ?

स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्दै सीमित रुपमा भएपनि आर्थिक–सामाजिक जीवनका गतिविधिहरु क्रमशः अगाडि बढाउने विभिन्न विकल्प र उपायहरु समेटिएको मोडेल नै ‘स्मार्ट लकडाउन’ हो ।

यो लकडाउन विज्ञान, प्रविधि, वाणिज्य, कला र व्यवस्थापनमा आधारित पद्धति र अवधारणा भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

‘स्मार्ट लकडाउन’ सम्बन्धी कार्यविधि–२०७८ मा उल्लेख गरिएका संक्रमण मूल्यांकन सूचकका आधारमा ‘स्मार्ट लकडाउन’का लागि स्तर निर्धारण गरिने छ ।

केन्द्रका अनुसार संक्रमणको चुनौती मापन गर्दा संक्रमण दर, संक्रमणको उतारचढाव, नयाँ संक्रमण संख्या, अस्पताल भर्ना प्रतिशत र मृत्यु दर समेतका सूचकहरुको अलावा देखा पर्न सक्ने नयाँ भेरियन्ट र त्यसको प्रभाव समेतको आधारमा मूल्यांकन गरिने छ । यस्तो मूल्यांकनबाट संक्रमणको चुनौतीलाई क्रमशः अति उच्च, उच्च, मध्यम र न्यून गरी चार तहमा वर्गीकरण गरिएको छ ।

लकडाउन पनि क्रमशः पूर्ण, मिश्रति, खुकुलो र न्यून गरी चार स्तरमा कायम गरी आधारभूत सेवा, औद्योगिक उत्पादन, कृषि र अत्यावश्यक आपूर्ति लगायतका आर्थिक तथा सामाजिक गतिविधिहरु उपयुक्त ढंगमा सञ्चालनको अवस्था सिर्जना गरिने छ ।

‘स्मार्ट लकडाउन’मा विद्यालय खोल्ने प्रावधान के छ  ?

कार्यविधिअनुसार स्वास्थ्य मापदण्डको पालना गरी खुला गर्ने क्षेत्र, उपक्षेत्र तथा क्रियाकलापको आधार निर्धारण गरिएको छ । कडा (हार्ड) लकडाउन, मिक्स लकडाउन, सफ्ट लकडाउन र मिनिमल लकडाउनका आधारमा केन्द्रले निर्धारण गरेका क्षेत्र, उपक्षेत्र तथा क्रियाकलापहरु सञ्चालन गर्न पाउनेछन् ।

कार्यविधिमा नसमेटिएका क्षेत्र, उपक्षेत्र तथा क्रियाकलाप सञ्चालन गर्नुपरेमा डीसीसीएमसीको सिफारिसको आधारमा सीसीएमसीले निर्णय गरेबमोजिम हुनेछ ।

जोखिम स्तर गम्भीर, संक्रमण फैलन स्तर ठूलो मात्रा, लकडाउनमा अपनाइने कडा रणनीति र जनस्वास्थ्यको मापदण्ड कडाभन्दा कडा पालना गर्नुपर्ने अवस्था आएमा ‘हार्ड (कडा) लकडाउन’ गर्नुपर्ने अवस्था हुन्छ । यो अवस्थामा जोखिमको संकेत रातो (रेड) हुनेछ । यो लकडाउनको समयमा शैक्षिक संस्था भर्चुअल माध्यमबाट मात्रै सञ्चालन गर्न पाइने छ ।

जोखिमको स्तर उच्च, संक्रमणको स्तर उल्लेख्य, लकडाउनमा अपनाइने रणनीति नियन्त्रणमुखी र मापदण्ड पालना इन्टरमेडियटको अवस्थामा ‘मिक्स लकडाउन’ गर्नुपर्ने उल्लेख छ । यस्तो लकडाउनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै शैक्षिक संस्थामा प्रशासनिक कार्य मात्र गर्न पाइने छ । मिक्स लकडाउनमा जोखिमको संकेत गाडा पहेंलो (एम्बर) हुनेछ ।

जोखिमको संकेत पहेंलो (एल्लो) भएको अवस्थालाई ‘सफ्ट लकडाउन’ भनिएको छ । संक्रमणको जोखिम स्तर मध्यम, संक्रमणको स्तर मध्यम, लकडाउनमा अपनाइने रणनीति संरक्षण र मापदण्ड पालना कडाइको अवस्थामा ‘सफ्ट लकडाउन’ गर्नुपर्ने उल्लेख छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन तथा सम्बन्धित कक्षाको कूल क्षमताको ३३ प्रतिशत नबढ्ने गरी आलोपालो समेतको उपयुक्त वैकल्पिक विधि अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सकिने छ । तर कक्षा सञ्चालनका लागि स्थानीय तहको सिफारिसमा डीसीसीएमसीले स्वीकृति दिएको हुनुपर्ने छ ।

जोखिमको संकेत हरियो (ग्रीन) भएको अवस्थालाई ‘मिनिमल लकडाउन’ भनिएको छ । यो लकडाउन गर्नुपर्ने अवस्थामा संक्रमणको जोखिमस्तर न्यून, संक्रमणको स्तर न्यून, लकडाउनमा अपनाइने रणनीति रोकथाम र मापदण्ड पालना स्तरीयको अवस्थामा ‘मिनिमल लकडाउन’ गर्नुपर्ने उल्लेख छ । यो प्रकारको लकडाउनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्न पाइने छ ।

हेर्नुहोस् सूचना :

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap