२०८१ जेष्ठ ७

अदालत, निर्वाचन आयोग र सभामुखप्रति ओलीको कटाक्ष

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाएका छन्।


Advertisement


नेकपा (एमाले) झापा-काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भीरबाट हिँडेको आरोप लगाए।

उनले निर्वाचन आयोग पनि संविधान र कानूनको राजमार्गमा हिँड्न छाडेको बताए। 

उनले अदालतमा बसेपछि जे पनि गर्न सकिने जस्तो भइरहेको पनि उल्लेख गरे।

उनले भने, ‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ। राजमार्गबाट सभामुख हिँड्न मान्दैनन्। बाटाबाट हिँड्न मान्दैनन्। कान्ला कान्ला, भिर भिर कुद्छन्। निर्वाचन आयोग संविधानको, कानूनको राजमार्ग छ त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ। सम्मानित अदालतको कुरै नगरौं। त्यहाँ बसेपछि त जे गर्दा पनि हुन्छ। त्यही भइरहेको छ। हामी ती कुराहरूलाई स्वीकारेर, मानेर लोकतन्त्रप्रति चिन्ता गरिरहेका छौं। चिन्ता लोकतन्त्रको भविष्य प्रति गरिरहेका छौं। किनभने लोकतन्त्रको भविष्य हाम्रो बलिदानसँग जोडिएको छ।’

अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारूढ गठबन्धन भत्किने बताए।

उनले भने, ‘अहिले सबभन्दा बढी समाजका लागि चिन्ता भएको, राजनीतिमा चिन्ता भएको कुरो के भने अलोकतान्त्रिक जस्तो अभ्यास भइरहेको छ, त्यो चिन्ताको विषय हो। अहिले सरकारमा को रह्यो, को रहेन, को गयो, जालझेल, षडयन्त्र गरेर, तिगड्म गरेर, स्वार्थहरूका पोकाहरू एक ठाउँ भेला भएर, उद्देश्य नभएका मान्छेहरूको झुण्ड गयो होला सरकारमा चिन्ताको विषय होइन। त्यो गठजोड यताउता त के हुन्छ र चुनावमा गएर के को गठजोड चुनावमा गएर सब ठिकठाक भैहाल्छ।’

उनले खेल क्षेत्रलाई महत्व दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने पनि बताए। 
 

Copy link
Powered by Social Snap