२०८१ जेष्ठ ४

तालिबानी आक्रमण सुरू भएपछि अफगानिस्तानबाट १० दिनमा १६४ जना नेपाली काठमाडौं फर्किए

अफगानिस्तान, काबुलको दक्षिणपश्चिम सहर कन्दहारमा तालिबान र सुरक्षाकर्मीहरूबीच लडाइँपछि आकाशमा देखिएको धुवाँको मुस्लो। तस्बिरः एपी

अफगानिस्तानामा तालिबानी विद्रोहीको आक्रमण सुरू भएयता १६४ जना नेपाली स्वदेश फर्किएका छन्।

तालिवानी हमला सुरू भएपछि हालसम्म त्यति नेपाली आफ्नो देश फर्किएको अध्यागमन विभागले जनाएको छ।

विभागका अनुसार अगस्ट ५ देखि १५ तारिखसम्म १६४ नेपाली विभिन्न एयरलाइन्स हुँदै काठमाडौं आइपुगेका छन्।

नेपाल आउनेमा एक अफगानी कूटनीतिज्ञ र अर्का उनका परिवारका सदस्य छन्।


Advertisement


‘हाम्रो रेकर्डमा त्यहाँ विद्रोहीको आक्रमण सुरू भएयता १६४ नेपाली आएको देखिन्छ, त्यसमा एक अफगानी कूटनीतिज्ञ र उनका परिवारका सदस्य छन्,’ विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने।

यो बीचमा अफगानिस्तानबाट विस्थापित भई नेपाल शरण लिन आएका अफगानी नागरिक आएका छन् छैनन् भन्नेबारे चासो भए पनि विभागले आफ्नो रेकर्डमा त्यस्ता नागरिक छन् छैनन् हेर्नुपर्ने बताएको छ।

केही दिनयता तालिबानी विद्रोहीले अफगानिस्तानका मुख्य सहरहरू कब्जा गरिरहेका छन्। त्यहाँ कानुनी गैरकानुनी दुबै तरिकाले पुगेर विभिन्न कम्पनीमा कार्यरत् नेपालीलाई फर्काउन परराष्ट्र मन्त्रालयले सहजीकरण गरिरहेको छ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालका अनुसार अफगानिस्तानका सक्रिय विभिन्न कूटनीतिक नियोगमा करिब १५ सय नेपाली कार्यरत् रहेको जानकारीमा आएको छ।

‘बेलायत, अमेरिका, जापान, जर्मनी, क्यानडालगायत दूतावासमा कार्यरत् नेपालीलाई चाँडोभन्दा चाँडो फर्काउने हाम्रो योजना छ,’ उनले भनिन्, ‘अन्य अलपत्र परेका नेपाली वा कुन कम्पनीमा कति कामदार छन् त्यसको सूचना संकलन भइरहेको छ।’

सूचना संकलनका लागि विभिन्न कूटनीतिक नियोगसँगै नेपालको कन्सुलर विभागलाई सक्रिय राखिएको उनले बताइन्। उनका अनुसार काबुलमै वर्किङ भिसामा कार्यरत् नेपालीहरूलाई प्राथमिकतासाथ नेपाल ल्याउने प्रयास भइरहेको छ।

अफगानिस्तानस्थित विदेशी कम्पनीमा कार्यरत् एक जना नेपालीले अफगानमा तालिबानी आक्रमण सुरू भएपछि ३० अगस्टसम्ममा अमेरिकाले आफ्नो सैनिक फिर्ता गर्ने भएपछि त्यहाँ कार्यरत् नेपाली तथा विदेशीलाई फर्काउने प्रक्रिया सुरू गरेको थियो।

अमेरिकी सेना फिर्ता हुनुभन्दा पहिले नै त्यहाँका राजदूतावास र विदेशी कम्पनीले कार्यरत् कर्मचारीलाई २० अगस्टसम्ममा आफ्नो देश फिर्ता गराउन लागेका थिए।

‘यो प्रक्रिया चलिरहँदा आइतबार (हिजो) तालिबानीले काबुल कब्जा गरेपछि हामीलाई चार्टर्ड विमानबाट दुबई लैजाने प्रक्रिया चलेको छ,’ उनले भने, ‘दुबईबाट हामी काठमाडौं आउँछौं।’

सार्वजनिक रुपमा बोल्न स्वीकृति नभएका कारण उनले आफ्नोबारे उल्लेख गर्न चाहेनन्।

उनका अनुसार त्यो कम्पनीमा तीन सय जनाजति मानिस कार्यरत् थिए। त्यसमा नेपालीहरू पनि थिए। तिनीहरूलाई कम्पनीले आ-आफ्नो देश फर्काइसकेको छ।  

‘हामी भोलि चार्टर्ड विमानमा दुबई जाने चार्ट ६० जना छौं,’ उनले भने।

तालिबानी आक्रमणका कारण बाहिरबाट हेर्दा काबुलमा अशान्ति देखिए पनि कूटनीतिक नियोग र ठूला कम्पनीमा कार्यरत् मानिसहरू कार्यालयभित्र स्वतन्त्रपूर्वक नै काम गरिरहेको उनले बताए।

‘बाहिरबाट हेर्दा जस्तो देखिए पनि काबुलमा भित्र कार्यालयमा काम गर्ने हामीलाई खतरा केही छैन,’ उनले भने, ‘नेपालीहरू काम गर्ने ठूला-ठूला कम्पनी र राजदूतावासले कर्मचारी फर्काउने काम सुरू गरिसकेका छन्।’

उनका अनुसार ठूला कम्पनी र कूटनीतिक नियोगमा कार्यरत् मानिसहरूलाई खासै समस्या छैन। साना कम्पनीमा काम गर्ने वा गैरकानुनी रुपले पुगेका नेपालीहरूलाई भने फर्किन समस्या हुन सक्छ।

Copy link
Powered by Social Snap