२०८१ बैशाख २०

अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पुर्‍याउने व्यवस्था मिलाउनू: गृह मन्त्रालय

मन्त्रालयले अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पुर्‍याउने व्यवस्था समेत मिलाउन निर्देशन दिएको छ। सोमबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले उक्त निर्देशन दिएको  हो। 

‘त्यहाँ रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्‍ने र स्वदेश फर्काउने भन्‍ने विषयमा कार्ययोजना सहित कार्य गर्न र उनीहरूलाई स्वदेशमा ल्याइसकेपछि गर्नुपर्ने तयारी गरी स्वदेश फर्काइएका नागरिकको स्वास्थ्य जाँचको व्यवस्था गर्ने र संक्रमितहरूलाई उपचारको व्यवस्था र अरूलाई घरसम्म पुर्‍याउने व्यवस्था समेत मिलाउनू’, उनले भनेका छन्।


Advertisement


उक्त विषयमा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचना आदानप्रदान र समन्वय गरेर प्रभावकारी रूपमा काम गर्न उनले निर्देशन दिएका हुन्।

हालै अफगानिस्तानमा घटेको घटना र त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षित रूपमा उद्धार गर्ने विषयलाई समन्वयात्मक र प्रभावकारी बनाउने विषयमा बैठक बसेको थियो।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले अफगानिस्तान घटनाबाट नेपालमा कुनै न कुनै रूपमा प्रभाव देखिन सक्ने हुँदा पूर्वसावधानी आवश्यक रहेको बताएका थिए। 

‘त्यहाँ रहेका नेपालीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक सम्पर्क बढाउने, पर्यटन मन्त्रालयले वायुसेवालाई तयारी अवस्थामा राख्ने, नेपाली नागरिकलाई नेपाल ल्याइसकेपश्‍चात उनीहरूको व्यवस्थापन गर्न होल्डिङ सेन्टर , होटल क्वारेन्टिन र खोप लगायतका स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न आवश्यक छ’,  उनले भने, ‘सीमा नाकामा निगरानी बढाउने, उक्त घटनालाई लिएर हुन सक्ने कुनै पनि गतिविधि उपर निगरानी एवं नियन्त्रण गर्ने गरी तयारी अवस्थामा रहन आवश्यक छ।’

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, गृह सचिव टेकनारायण पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, सुरक्षा निकायका प्रमुखहरू, कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका प्रतिनिधि र अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्था वस्तुगत रूपमा यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्य गर्नका लागि आज परराष्ट्र मन्त्रालयका सहसचिवको अध्यक्षतामा गठित कार्यदलका सदस्यहरूको समेत उपस्थिति थियो।

Copy link
Powered by Social Snap