२०८० चैत्र १५

एक अर्ब बढी लगानीमा काठमाडौंमा बन्दैछ एसियाकै दोस्रो ‘मोक्सी’ होटल

कोरोनाका कारण उद्योग, कलकारखाना, व्यापार, व्यवसाय संकटोन्मुख छन्। सबभन्दा प्रभावितमध्ये होटल व्यवसाय एक हो। विदेशी पाहुना लक्षित र ठूलो लगानीमा खुलेका होटलले अझै धेरै चुनौती सामना गरिरहेका छन्।

यो संकटबीच व्यापारिक घराना एमएस समूहले भने काठमाडौंमा तारे होटल बनाउने तयारी गरेको छ।

समूहले मोक्सी ब्रान्डको अन्तर्राष्ट्रिय चेन होटल काठमाडौंको कमलादीमा बनाउन लागेको हो। यस सम्बन्धमा  मेरियट इन्टरनेसनल र हिमालय हस्पिटालिटीबीच सम्झौता भइसकेको छ।


Advertisement


एमएस समूहका प्रबन्ध निर्देशक तथा मेरियट र फेयरफिल्ड होटलका सञ्चालक शशिकान्त अग्रवालका अनुसार काठमाडौंमा बन्ने मोक्सी एसियाकै दोस्रो हुनेछ। पहिलो जापानमा छ। मोक्सी युरोप र अमेरिका पनि फैलिसकेको होटल हो।

यो होटलको लगानी एक अर्ब दस करोड अनुमान गरिएको अग्रवालले जानकारी दिए।

‘जग्गाबाहेक अहिलेको लागत अनुमान हो त्यति हो। ज्याला, निर्माण सामग्रीदेखि हरेक कुराको मूल्य बढेको छ। त्यसमा थोरै तल/माथि हुनसक्छ,’ अग्रवालले भने। 

महामारीका कारण अर्थतन्त्र धिमा भएका बेला ठूलो लगानीको होटल खोल्ने योजना कसरी बन्यो?

होटल बन्न तीन-चार वर्ष लाग्ने भएकाले अवस्था सहज हुने अपेक्षासहित लगानी गरेको सञ्चालक अग्रवाल बताउँछन्।

संसारका जुनसुकै कुनामा ठूला होटल निर्माण सक्न कम्तीमा तीन-चार वर्ष लाग्छ। हाम्रो सन्दर्भमा अझ पाँचदेखि सात वर्षसम्म लागेको देखिन्छ। अहिले सुरू गर्दा केही अवरोध नभए पनि मोक्सी होटलको सबै काम सक्न कम्तीमा तीन वर्ष लाग्ने उनले बताए।

त्यो बेलासम्म महामारी जोखिम कम हुने र पर्यटन आवागमन बढ्ने आशा उनको छ।

‘तीन वर्षसम्म पनि उच्च जोखिम रहिरह्यो भने त संसारै अस्तव्यस्त होला,’ उनले भने, ‘तर सबै कुरा हेर्दा अलि समयपछि सहज हुन्छ कि भन्ने आश छ। फेरि तत्काल नाफा लिन लगानी गरिएको पनि होइन।’ 

महामारी साम्ये भएपछि हामीकहाँ पर्यटन बजार बढ्ने आकलन उनले गरेका छन्। त्यहीअनुसार धेरै रकम लगानी गर्ने जोखिम उठाएको हो एमएस समूहले।

मोक्सी सन् २०२५ देखि सञ्चालनमा ल्याइसक्ने गरी बनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको दुई रोपनी जग्गामा बन्ने यो होटलमा एक सय आठ कोठा हुनेछन्। त्यस्तै १२ वटासम्म गाडी पार्क गर्न मिल्नेछ। यसनिम्ति जग्गा पर्याप्त भएको अग्रवाल बताउँछन्।

मेरियटकै ब्रान्ड मोक्सी विशेषगरी युवावर्ग तथा विदेशी पाहुना लक्षित हो। सञ्चालन पनि मेरियटले नै गर्नेछ। अग्रवालका अनुसार ‘फेन्सी’ तथा रमाइलो चाहने युवावर्ग लक्षित यो होटलमा ड्रमसेट म्युजिक चलिरहन्छ। यहाँ प्रवेश गर्नेबित्तिकै अरू होटलमा जस्तो रिसेप्सन हुँदैन। यसको सट्टा बार हुन्छ। युवा वर्गकै लागि भनेर कोठामा कपडा राख्ने दराज नराखी डोरी टाँगिने उनले बताए। 

‘अहिलेसम्म फेन्सी स्टाइल चाहनेका लागि हामीकहाँ त्यस्तैखाले होटल छैनन्। मोक्सी रफ एन्ड टफ मान्छेका लागि हो। यसले युवा पुस्तालाई आकर्षित गर्छ भन्ने विश्वास राखेका छौं,’ उनले भने, ‘रमाइलो खोज्नेका लागि सबै सेवासुविधा छन्। परम्परागत होटलभन्दा फरक हुन्छ।’

यहाँ  दिनभर डाइनिङ आउटलेट, टेक अवे, रूफटप बार, लगायत सेवा हुनेछ। त्यस्तै फिटनेस सेन्टर र स्विमिङ पुल पनि हुने उनले बताए। 

चिनी र धागो उत्पादनमा सक्रिय एमएस समूहले पछिल्लो समय होटलमा लगानी बढाउँदै लगेको छ। समूहको काठमाडौंमा यो तेस्रो होटल हो। यसमा राम्रो आम्दानी भएकाले लगानी बढाएको अग्रवालको भनाइ छ।

‘अरु उद्योग पन्छाएर यता लगानी थालेको होइन। यो क्षेत्र राम्रो भएकाले अरूसँगै यता पनि बढाएका हौं,’ उनले भने, ‘अवस्था सामान्य हुँदा राम्रो चलिरहेको पनि थियो। लगानीअनुसार प्रतिफल पाउँदा सन्तुष्ट थियौं। होटल नेपालका लागि चाहिने व्यवसाय हो, ग्ल्यामर पनि छ।’

तर पछिल्लो डेढ वर्षदेखि कोभिडका कारण होटल व्यवसाय धरासायी हुँदैछ। उनका अनुसार व्यवसायीले थेग्न नसक्ने ऋणको भार बढिसक्यो। नयाँ होटललाई अझ धेरै गाह्रो छ। त्यसमाथि विदेशी लक्षित होटल सबभन्दा बढी मारमा परेका छन्।

‘उपत्यका आसपास तथा बाहिरका आन्तरिक पर्यटक लक्षित होटल चलिराखेका छन्। काठमाडौंमा भने आन्तरिक पर्यटक छैनन्, विदेशी झन् आएकै छैनन्। विदेशी लक्षित होटल सुनसानै छन्,’ अग्रवालले भने।

एमएस समूहका होटल भने महामारी बेला पनि फाट्टफुट्ट चलिरहेको उनले जानकारी दिए। यसले आर्थिक रूपमा केही सहज भएको उनी बताउँछन्। 

पछिल्लो समय पूर्वाधार विकास क्रम बढेकाले कोभिड नियन्त्रण भएलगत्तै पर्यटन व्यवसायले फड्को मार्नेमा पनि उनी विश्वस्त छन्। यसले पनि उनलाई लगानीमा प्रोत्साहन गरेको छ। निर्माणाधीन अन्तर्राष्ट्रिय एयरपोर्टहरू र सडक सञ्जालहरू पर्यटन प्रवर्द्धननिम्ति कोशेढुंगा सावित हुने उनको भनाइ छ।

‘अब हरेक वर्ष केही नयाँ गन्तव्यको खोजी होला। पर्यटकका लागि आकर्षक प्याकेज बनाइएला। आजभन्दा चालीस वर्षअगाडि हिमाल चढ्न कति गाह्रो थियो, आजभोलि लर्को हुन्छ। सबै सहज बन्दै गएकाले कोरोना नियन्त्रण हुनेबित्तिकै पर्यटन प्रवर्द्धन पनि अगाडि बढ्छ,’ उनी आशावादी छन्।

तर यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ। अहिलेको अवस्थामा सरकारले सबैको स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्नेमा उनले जोड दिए। 

‘विदेशीहरूले नेपालमा सबैले खोप पाएका छैनन्, कोभिडको जोखिम धेरै छ भन्न थालेका छन्,’ अग्रवाल भन्छन्, ‘त्यसैले सबभन्दा पहिले सबैलाई खोप व्यवस्था हुनुपर्छ। अनि कोभिड नियन्त्रणमा सहयोग पुग्छ।’

त्यस्तै विदेशी पाहुनालाई नेपाली नागरिकसरह व्यवहार गर्नुपर्नेमा उनको जोड छ। उनीहरूलाई हवाइ, सवारी लगायत भाडा पनि नेपालीसरह हुनुपर्ने उनी बताउँछन्। 

‘विदेशीलाई चार गुणा बढी भाडा लिइन्छ। यो पनि एउटा अत्याचार हो। हामी विदेश जाँदा त्यहाँ आफ्नो अधिकार खोज्छौं, तर नेपालमा विदेशीलाई अर्कै व्यवहार गरिन्छ,’ उनले भने, ‘संसारमा जता पनि विदेशी र आफ्नो नागरिकलाई भाडा एउटै हुन्छ। नेपालमा भने विभेद छ।’

Copy link
Powered by Social Snap