२०८१ बैशाख १२

टोकियो ओलम्पिकमा रूसका खेलाडीले आफ्नो देशको नाम र झण्डा प्रयोग गर्न किन पाइरहेका छैनन्?

टोकियो ओलम्पिकमा रूसका ३३५ खेलाडी सहभागी छन्। तर, अरू देशका खेलाडी जस्तै उनीहरूलाई आफ्नो देशको नाम, झण्डा र राष्ट्रिय गानको उपयोग गर्ने अनुमति छैन। 

यी सबै खेलाडी रसियन ओलम्पिक कमिटी अर्थात् आरओसीको झण्डामा टोकियो ओलम्पिक खेलिरहेका छन्। उनीहरूले जितेको पदक पनि टोकियो ओलम्पिकको पदक तालिकामा आरओसीको नाममा छ। जसको झण्डा रुसको भन्दा अलग छ। 


Advertisement


जारी ओलम्पिकमा आरओसीको झण्डामा अहिलेसम्म २५ खेलाडीले पदक जितिसकेका छन्। जसमा ७ स्वर्ण, ११ रजत र ७ कास्य समावेश छन्। आरओसी पदक तालिकामा चीन, अमेरिका र जापानपछि चौथो स्थानमा छ।

यसअघिका ओलम्पिकमा रूस पदक तालिकामा माथिल्लो स्थानमा रहने गर्थ्यो। क्षेत्रफलको हिसाबमा संसारको सबैभन्दा ठूलो देश रूस २०१६ को रियो ‌ओलम्पिकमा ५६ पदक जित्दै पदक तालिकाको चौथो स्थानमा रहेको थियो।

सन् २०१९ मा वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) ले रुसलाई टोकियो ओलम्पिक २०२० र फिफा विश्वकप २०२२ गरी सबै प्रमुख प्रतियोगितामा भाग लिन चार वर्षको प्रतिबन्ध लगाएको थियो। 

सन् २०२० मा यो निर्णयको विरुद्ध कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्समा रूसले अपील गरेको थियो। अपीलपछि प्रतिबन्ध घटाएर दुई वर्षमा झारिएको थियो। त्यसपछि यो प्रतिबन्ध डिसेम्बर २०२२ सम्म कायम रहने भएको थियो।

अनुसन्धानकर्ताहरूले रूसले जानाजान केही वर्ष डोपिङ कार्यक्रम (प्रतिबन्धित औषधी सेवन) चलाएको आरोप लगाएका थिए।

जसका कारण विभिन्न खेलका अन्तर्राष्ट्रिय महासंघले विश्वभर हुने प्रमुख प्रतियोगितामा रूसी खेलाडीलाई प्रतिबन्ध लगाउन बाध्य भए। 

सेप्टेम्बर २०१८ मा केही अनुसन्धानपछि वाडाले एक शर्तमा प्रतिबन्ध हटाएको थियो। शर्त चाँही रूसको मस्को प्रयोगशालाको खेलाडीहरूको तथ्यांक वाडालाई दिनुपर्ने राखिएको थियो। वाडा डोपिङ कार्यक्रममा फसेका धेरै खेलाडीको नाम पत्ता लगाउन चाहान्थ्यो। 

तर त्यसपछि रूसमाथि तथ्यांकमा हेरफेर गरेको आरोप लागेको थियो। त्यसपछि फेरि वाडाले रूसलाई प्रतिबन्ध लगाएको थियो। 

सन् २०१६ मा रूसको एन्टी डोपिङ प्रयोगशालाका निर्देशक रहिसकेका ग्रेगरी राडशेनकाफले एक अन्तर्वार्तामा दिएका थिए। उनी सन् २०१४ को सोची विन्टर ओलम्पिकका दौरान प्रयोगशालाका निर्देशक थिए।

उनले अन्तर्वार्तामा आफूले रूसका ओलम्पिक खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न सहयोग गर्ने औषधी बनाएको बताएका थिए। आफूले बनाएको उक्त औषधी सेवन गर्दा खेलाडीको प्रदर्शन उत्कृष्ट हुने उनको भनाइ थियो।

उनले न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिएपछि वाडाले अनुसन्धान गरेको थियो। जसमा सन् २०१२ देखि २०१५ को बीचमा ३० खेलका एक हजार बढी खेलाडीलाई उक्त डोपिङ कार्यक्रममा फसाइएको पत्ता लागेको थियो। जसका कारण रूसमाथि प्रतिबन्ध लगाउन वाडा बाध्य भएको थियो।

Copy link
Powered by Social Snap