२०८१ बैशाख ७

खाजा घरभित्रै खोप!

नेपालमा अहिले कोभिड-१९विरूद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर सबैले खोप पाउने निश्चित भइसकेको छैन।

त्यसैबीच बिहीबार दिउँसो अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वांङलाका चोपनारायण श्रेष्ठले फेसबुकमा दुईवटा तस्विर सार्वजनिक गरे। उनले एक महिलाले कोरोना विरुद्धको खोप लगाउँदै गरेको तस्वीर सार्वजनिक गरेका थिए। तस्वीर सार्वजनिक भएको केही समयमै व्यापक चर्चा पायो।


Advertisement


‘नेपाली कांग्रेसले सत्ता संचालन गरे लगत्तै कोरोना भाइरसविरुद्धको खोप जनताका घरदैलोमा नै उपलब्ध, चैत मसान्तसम्म सम्पूर्ण देशबासीले खोप लगाइ सकिने छ,’ श्रेष्ठले लेखेका थिए। तर तस्वीर कुनै स्वास्थ्य चौकी वा खोप केन्द्रको थिएन।

त्यो तस्वीर अर्घाखाँचीको वांङलाको सन्देश नेवारी खाजाघर भित्रको थियो। तस्वीरमा एक महिलालाई खोप लगाउँदै गरेको र टेबलमाथि आठ वटा भाइल तथा सिरिन्ज देखिन्छ।

यसरी खाजा पसलमा नै खोप लगाएको तस्वीर सार्वजनिक भएपछि यसले स्थानीय प्रशासनको ध्यान खिचेको छ।

तस्वीर सार्वजनिक भएको केही समयमै बिहीबार नै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले  चोप नारायणलाई नियन्त्रणमा लिएको छ। उनीमाथि सोधपुछ गर्दा आफूले सो खोप कुनै स्वास्थ्य संस्था वा खोप केन्द्रबाट नभइ कपिलवस्तुका एक औषधि कारोबारीसँग लिएको बताएका छन्। त्यसरी लिएर आफ्नै चियापसलमा खोप लगाइदिएको बयान दिएका हुन्।

खाजा घरमै खोप लगाएपछि आलोचना भएको थियो भने केहीबेरमै श्रेष्ठले तस्वीर हटाएका थिए।

श्रेष्ठले सो खोप सरकारी भन्दा पनि गैर कानुनी बाटोबाट ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।

‘हामीले चोपनारायण मात्र होइन, उनलाई खोप लगाइदिने दिपक श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरेका थियौं। कपिलवस्तुबाट आएको भन्ने खुलेको छ थप अनुसन्धान गर्दैछौं,’ थापाले भने।

दिपक श्रेष्ठले भने आफूमाथि लागेको आरोप अस्विकार गरेका छन्। ‘मलाई उक्त खोपबारे कुनै जानकारी छैन। मैले लगाइदिएकै होइन,’ उनले भने।

सन्धीखर्क नगरपालिकाका नगरप्रमुख कमल भुसालले वांङलामा लगाइएको उक्त खोप सरकारी स्तरबाट आएको नभएको दावी गरेका छन्। उनले सो खोप भारतीय सिमावर्ती बजारबाट अनाधिकृत रुपमा ल्याइएको हुन सक्ने बताए।

‘सन्धीखर्कका १२ वटै स्वास्थ्य कार्यालयमा खोपको तथ्यांक अद्यावधिक छ खोपको दुरुपयोग भएको छैन,’ नगरप्रमुख भुसालले भने।

चोपनारायण श्रेष्ठले आफ्ना घरका सातै जना सदस्यहरूलाई लगाइदिएको प्रहरीलाई बताएका छन्। सो खोप एक डोजमात्रै लगाए पुग्ने समेत भनिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले खोप लगाएको भन्दा पनि कस्तो खोप, कुन सुरक्षा र स्वास्थ्य मापदण्डका आधारमा अर्घाखाँची आइपुगेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।

उनले टेबलमा देखिएका खोपका भाइलहरू नेपाल सरकारले आयात गरेको भन्दा फरक रंगको देखिएको हुँदा ती खोपहरू भारतबाट अनाधिकृत रूपमा ल्याइएको हुनसक्ने आशंका व्यक्त गरे।

‘हामीले यस विषयमा गम्भीर अनुसन्धान गर्दैछौं,’पौडेलले भने।

Copy link
Powered by Social Snap