२०८१ बैशाख १९

कोरोना महामारीका बीच आजदेखि टोकियो ओलम्पिक

कोरोना महामारीका बीच आजदेखि टोकियो ओलम्पिक गेम्स सुरू हुँदैछ। कोरोनाका कारण एक वर्ष ढिलो गरी हुन लागेको प्रतियोगिता अबको दुई साता जापानको राजधानी टोकियोमा संचालन हुनेछ। 

प्रतियोगितामा २ सय ७ देशका ११ हजार ३ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। 

गत वर्ष हुने तय भएको ओलम्पिक कोरोना भाइरसका कारण एक वर्ष सारिएको थियो। तोकिएको समयभन्दा एक वर्षपछि हुन लागेको ओलम्पिक त्रासमुक्त भने छैन। 


Advertisement


माक्स, क्वारेन्टिन र पिसिआर टेस्ट ओलम्पिक खेलमा थपिएका अनिवार्य नियम हुन्। आयोजकले सकेसम्म सुरक्षित बनाउने कोशिस गरे पनि ओलम्पिकमा सहभागीमा कोरोना संक्रमण हुने दर रोकिएको छैन। 

बिहीबारसम्म ओलम्पिकमा सहभागी ८७ जनामा कोरोना पुष्टि भइसकेको छ। 

यसपटकको ओलम्पिकमा ३३ खेलको ३३९ मेडल इभेन्ट हुनेछन्। ३३ मध्ये पाँच खेल नयाँ छन्। यस्तै अघिल्लो ओलम्पिक भन्दा यसपटक ३४ नयाँ इभेन्ट्स थपिएका छन्। 

यसपटक ओलम्पिकमा ४८.८ प्रतिशत महिला खेलाडी सहभागी छन्। जुन प्रतिशत अहिलेसम्मकै बढी हो। 

‌ओलम्पिकको कूल खर्च ११.५ बिलियन पाउन्ड रहेको छ। एक वर्ष ढिलो गरी प्रतियोगिता हुँदा आयोजकलाई २२ प्रतिशत बढी खर्च भार परेको छ। 

ओलम्पिकमा नेपालका पाँच खेलाडीले सहभागिता जनाउँदैछन्। शुक्रबार हुने उद्घाटन समारोहमा पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्जान्डर ग्याडिगाड शाह नेपालको झण्डा बोक्नेछन्।

नेपालकी जुडो खेलाडी सोनिया भट्टले पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग प्रतिस्पर्धा गर्नेछिन्। 

महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच पहिलो चरणमा प्रतिस्पर्धा हुन लागेको हो। 

खेल शनिबार हुनेछ। प्रारम्भिक चरणको खेल स्थानिय समयअनुसार विहान ११ बजे सुरू हुनेछ। यो समूहको पदकको टुंगो शनिबार नै लाग्नेछ।

शनिबार नै नेपालकी अर्की खेलाडीले प्रतिस्पर्धा गर्दैछिन्। सुटिङ खेलाडी कल्पना परियारले महिला १० मिटर एयर राइफलको छनोट चरणमा प्रतिस्पर्धा गर्नेछिन्। यो खेल स्थानीय समयअनुसार विहान ८:३० बजे सुरू हुनेछ। 

कल्पना सहभागी प्रतिस्पर्धाको टुंगो पनि शनिबार नै लाग्नेछ।

नेपालका पौडी खेलाडीद्वय गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। 

एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्। 

एलेक्सले हिट चरण पारे २८ जुलाईमा अर्को चरणमा भिड्नेछ। उनी सहभागी इभेन्टको पदकको टुंगो २९ जुलाईमा लाग्नेछन्। 

यस्तै गौरिका सहभागी एभेन्टमा २९ र ३० जुलाई अर्को चरणमा प्रतिस्पर्धा हुनेछ। 

यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन्। महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ।

Copy link
Powered by Social Snap