२०८० चैत्र १६

‘सहायक श्रीमान’ले जित्यो रसियामा प्रथम पुरस्कार

साभार: सेतोपाटी

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले रसियामा प्रथम पुरस्कार जित्न सफल भएको छ । 
रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले प्रथम पुरस्कार जितेको हो । रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान’ (को–हजबेन्ड) लाई प्रथम पुरस्कार स्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरे । बिभिन्न देशका फिल्महरु प्रतिस्र्धामा रहेका यस महोत्सवमा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको थियो । 

‘सहायक श्रीमान’का निर्देशक गणेश पाण्डेले जुममार्फत अवार्ड समारोहलाई सम्बोधन गर्दै भने– ‘यो मेरा लागि मात्र नभई नेपाल र युवा चलचित्रकर्मीहरुका लागि ठूलो सम्मान हो ।’ ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान’ नयाँ डकुमेन्ट्री फिल्म हो । गत डिसेम्बरमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘सहायक श्रीमान’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो । 


Advertisement


बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन् । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् । 

Copy link
Powered by Social Snap