२०८१ बैशाख २९

सरकारले तोकेको प्रयोगशालाको पिसिआर देखाउँदा पनि विमानस्थलबाटै फर्काइए कुमाल

नवलपरासीका बाबुराम कुमालले स्वास्थ्य मन्त्रालयले जारी गरेको एक सूचना पढेका थिए- विदेश जानेको हकमा सरकारी पिसिआर प्रयोगशाला र न्यूनतम सय बेड क्षमता भएका अस्पतालमा आधारित ‘ए’ वर्गका निजी प्रयोगशालामा कोभिड–१९ पिसिआर परीक्षण गर्न सकिने।

यो सूचना पढेपछि दक्षिण कोरिया रोजगारीमा जाने तयारीमा रहेका उनले कीर्तिपुरस्थित टियु बायोटेक कोरोना प्रयोगशालामा पिसिआर परीक्षण गराए। रिपोर्ट नेगेटिभ आयो।

बाबुरामको कोरिया जाने टिकट सोमबारको थियो। पिसिआर रिपोर्ट लिएर उनी त्रिभुवन विमानस्थल पुगे। विमानस्थलले उनको रिपोर्ट हेरेर भित्र पठायो।

उनले बोर्डिङ पास भने पाएनन्।


Advertisement


कतार एयरलाइन्समार्फत कोरिया जान लागेका उनलाई नेपालका लागि कोरियाली राजदूतावासले मान्यता दिएका चार ल्याबबाट पिसिआर गराए मात्रै प्रवेश पाइने भन्दै फर्काइयो। 

‘मैले कीर्तिपुर ल्याबमा पिसिआर गर्नु अगाडि नै म कोरिया जाने हो, यहाँ पिसिआर गर्दा जान पाउँछु कि पाउँदिनँ भनेर सोधेको थिएँ। उहाँहरूले मिल्छ भन्नुभयो। तर मलाई एयरपोर्टबाट फिर्ता पठायो,’ बाबुरामले भने। 

कोरियामा कुक काम गर्दै आएका उनी बिदामा फर्किएका थिए। कोभिड रोकथामका लागि सरकारले गरेको निषेधाज्ञाका कारण लामो समय रोकिएका उनी कोरियाली रोजगारदाताले टिकट पठाइदिएपछि उड्न काठमाडौं आएका थिए। 

नेपालका लागि कोरियाली दूतावासले कोरिया प्रवेश गर्नेले ललितपुरस्थित पाटन अस्पताल, कोरिया-नेपालमैत्री अस्पताल मध्यपुर थिमि, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकु र स्टार हस्पिटल, सानेपामा गरिएको पिसिआर परीक्षणलाई मात्रै मान्यता दिने उल्लेख गरेको छ।

तर यो व्यवस्थाबारे सरकारले विदेश जानेका लागि जारी गरेको सूचनामा उल्लेख नगर्दा कोरिया जाने युवाहरू विमानस्थलसम्म पुगेर फर्काइने घटना बढेको पाइएको छ। 

कीर्तिपुरस्थित टियु बायोटेक कोरोना प्रयोगशालाले भने सरकारले जारी गरेको सूचनाका आधारमा सबै विदेश जानेको पिसिआर परीक्षण गरिरहेको जनाएको छ। 

‘सरकारले विदेश जानेको पिसिआर सबै सरकारी प्रयोगशालाले गर्न सक्ने भनेर सूचना जारी गरेको छ। हामीले समाचारमा पनि त्यही पढ्यौं। म विदेश जाने हो, यहाँ पिसिआर गर्न मिल्छ कि मिल्दैन भन्नेलाई हामीले यहाँ मिल्दैन भन्न मिलेन। तर पछिल्लो समय धेरै मानिस विमानस्थल पुगेर फर्कनु परेको छ। यो सिन्डिकेट हो कि के हो? यसबाट त धेरै मानिसले दुःख पाए नि,’ टियु बायोटेकका बायोटेक्नोलोजिस्ट गणेश अधिकारीले भने।

देशगत रूपमा छुट्टाछुट्टै व्यवस्था छ भने सरकारले त्यो पनि सार्वजनिक रूपमा खुलाउनुपर्ने उनले बताए। योभन्दा अगाडि पनि केही एयरलाइन्सहरूले निश्चित ल्याब तोकेर यात्रुलाई दुःख दिएको उनको भनाइ छ। 

त्रिभुवन विमानस्थलस्थित हेल्थ-डेस्कले भने विदेश जानेको हकमा सरकारले जारी गरेको सूचनाअनुसार सरकारी ल्याब तथा न्यूनतम सय बेड क्षमता भएका सय अस्पतालमा आधारित ‘ए’ वर्गका निजी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको रिपोर्टलाई मान्यता दिएको जनाएको छ। 

‘हामीले तोकिएका प्रयोगशालामा गरिएको ७२ घन्टाभित्रको नेगेटिभ रिपोटलाई मान्यता दिएका छौं। तर कतिपय गन्तव्य मुलुकले आ–आफ्नै शर्त राखेका छन्,’ डेस्कका एक अधिकारीले भने, ‘शर्तअनुसार नभएकालाई बोर्डिङ पास दिइएको छैन। त्यो उनीहरूको देशको अधिकारको कुरा हो। यसमा जाने व्यक्तिहरूले पनि ध्यान दिनुपर्छ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुणा झाले अरू देशभन्दा कोरिया जानेको हकमा समस्या देखिएको बताइन्। 

‘कोरियाको नेपालस्थित दूतावासले नै चार वटा ल्याब तोकेको रहेछ। त्यसरी तोक्न त नमिल्ने हो। यसमा हामीले दूतावाससँग सिधै कुरा गर्न मिल्दैन। यो समस्या समाधानका लागि हामीले मन्त्रालयमा कुरा राखेका छौं। सहजीकरण होला,’ उनले भनिन्। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले विदेश जानेको हकमा सरकारी पिसिआर प्रयोगशाला र न्यूनतम सय बेड क्षमता भएका अस्पतालमा आधारित ‘ए’ वर्गका निजी प्रयोगशालाको रिपोर्ट मान्यता दिएको बताए। अरू थप विषयमा आफूलाई जानकारी नभएको उनले उल्लेख गरे। 

‘हामीले रिपोर्टमा प्रयोगशालाको बारकोड र फोटो अनिवार्य राख्न भनेका छौं। प्रयोगशालाहरूले यसमा पनि ध्यान दिनुपर्ने देखिएको छ। त्यो नभएको खण्डमा गन्तव्य मुलुकमा पुगेर फर्किनुपर्‍यो भने त नेपालीहरूलाई दुःख हुन्छ,’ उनले भने।

Copy link
Powered by Social Snap